आखिर असन्तुष्टिले संसार खाएको रहेछ

 मान्छे सम्पन्न हुन हरदम प्रयासरत रहन्छ । धन थुपार्न अनेक थरी उपाए निकाल्छन , युरोप अमेरिका , जापान , हङ्कङ धाउछन । आखिर सम्पन्न हुँदैमा सन्तुष्टी पाउने भए, धन थुपार्दैमा सुख मिल्ने भए , अनेक थरी सुबिधा थप्द्दैमा आनन्द मिल्ने भए संसारकै धनी यि खैरेहरु सुखी र प्रफुल्ल देखिनु पर्ने अनी युरोप , अमेरिका , जापान हङ्कङ पुगेका नेपालीहरु सन्तुष्ट देखिनु पर्ने ! आखिर असन्तुष्टिले संसार खाएको रहेछ ।

१९४० देखि नै नेपालीहरू हङकङमा बस्न थालेका थिए। अन्तर्राष्ट्रिय व्यापार केन्द्र हङकङ धेरै नेपालीको सपनाको शहर पनि हो। यहाँका नेपालीले देशका लागि आफ्ना तहबाट मनग्गे योगदान गरिरहेका छन्। नेपाली कलाकर्मीलाई अभिभावकले झैँ माया गरिरहेका छन्। नेपाली कला, भाषा, संस्कृतिप्रति उनीहरूको गहिरो प्रेममात्र छैन, यिनको प्रवर्द्धनमा पनि उनीहरू डटेका छन्। तर, हङकङमा बस्ने नेपाली युवा पुस्ता निराश छ। त्यहाँको शिक्षा महँगो छ, जीवनशैली खर्चिलो छ। थुप्रै नेपाली युवा दुर्व्यसनमा फसेका छन्। गोपाल दाहालले हङकङमा रहेका नेपालीका जिन्दगीका विभिन्न रङ र आयाम केलाएका छन्।
समुन्द्र पुरेर बनाइएको आधुनिक शहर। हेर्दै अचम्मलाग्दा अग्ला–अग्ला भवन। समुन्द्रमा दौडिरहेका जहाज। सवारीसाधनको ओहोरदोहोर। मान्छेहरूको हेरिनसक्नु भीड।
साँझ परेपछिको दृश्य अझै रोचक हुन्छ। रंगीचंगी देखिने तिनै अग्ला महल। सडकभरि आफैँलाई बिक्रीमा राखेर ग्राहक बोलाइरहेका सुन्दरी, बार्गेनिङ गरिरहेका पर्यटक। उता डिस्को, यता बार। रंगिन छ दुनियाँ!
साँच्चै सपनाको शहरजस्तो लाग्छ हङकङ। त्यसैले पनि होला, धेरैले सपनाको शहर भन्छन् यसलाई। नेपाली युवा पनि त्यसैमा पर्छन्। नेपाली युवाका लागि पनि सपनाको शहर हो हङकङ। तर, बाहिरी रूपमा जसरी हङकङले सपनाको शहरको परिचय बनाएको छ, त्यसभन्दा फरक छ यहाँको यथार्थ। अर्थात्, नेपालीका लागि सपनाको शहर हङकङ विपनामा निकै फरक छ।
बीस वर्षअघि सपनाको शहर खोज्दै हङकङ आइपुगेका कवि राईको अनुभवमा हङकङ दुईचार दिन घुम्न आउनेका लागि मात्र सपनाको शहर हो। हङकङको जोर्डनमा 'कौलन करी हाउस' सञ्चालन गर्दै आएका कवि भन्छन्, 'यो देखावटी रूपमा मात्र सपनाको शहर हो। वास्तविकता धेरै जटिल छ।' पहिला रोजगारी खोज्दै हङकङ आएका उनलाई अहिले यो शहर अत्यासलाग्दो लाग्छ। भन्छन्, 'बच्चाहरूको लागि मात्र बसिरहेको छु। भविष्यमा नेपाल नै फर्किन्छु।'
कविजस्तै अनुभव धेरै नेपालीको रहेको छ। नेपालमा रहँदा राम्रै चर्चा कमाइरहेका गायक, नायकदेखि निर्देशकसम्म हङकङमा यस्तै कडा परिश्रम गर्न व्यस्त भेटिन्छन्। नेपालबाट आउने अधिकांश युवाहरू निर्माण क्षेत्रमा काम गर्छन्। छोटो समयमा अत्यधिक गतिमा विकास भएको हङकङमा बनेका विशाल भवन, पुल र अन्य संरचनामा थुप्रै नेपाली युवाले पसिना बगाएका छन्। यहाँ १८ देखि ४० वर्षसम्मकालाई पहिलो श्रेणीका रूपमा हेर्ने गरिन्छ भने ४० देखि ५० वर्ष उमेरका दोस्रो श्रेणी र ५० वर्ष माथिकालाई तेस्रो श्रेणीका रूपमा हेरिन्छ।
हङकङमा काम गर्नेका लागि राम्रो कमाइ पनि हुन्छ तर खर्च पनि उत्तिकै हुन्छ। पहिला सेक्युरिटी गार्डमा धेरै रोजगारी पाएका नेपाली युवाहरू अहिले यहाँको निर्माण क्षेत्रमा काम गर्छन्। राम्रो कमाइका लागि हङकङमा निर्माण भइरहेका गहिरा सुरुङदेखि अग्ला भवनमा जोखिमपूर्ण काम गर्न बाध्य छन् नेपाली युवा। १२ घण्टासम्मको जोखिमपूर्ण र कष्टकर काम, तनाव र शहरको भीडभाड! त्यसमाथि महँगो कोठा भाडा, खर्चिलो दैनिकीजस्ता कारणले आक्रान्त छन् यहाँका नेपाली।
निर्माण क्षेत्रमा काम गर्नेहरूले मासिक ४० हजार हङकङ डलरसम्म कमाउँछन्। तर, मासिक ८ /९ हजार कोठाभाडा, दैनिक अन्य खर्च हिसाब गर्दा धेरै बचत गर्न सकिँदैन। किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुङ्वा संसारको व्यापारिक केन्द्रका रूपमा विकास भएको हङकङ व्यापार–व्यवसाय गर्नेका लागि सपनाको शहर भए पनि दुःख गर्ने अधिकांश नेपालीका लागि सोचे जस्तो सपनाको शहरका रूपमा नरहेको दाबी गर्छन्। भन्छन्, 'नेपालमा बसेर कल्पना गरे जत्तिको ड्रिम सिटी होइन हङकङ।'
सन् १९४० देखि नै ब्रिटिस सेनाका रूपमा नेपालीहरू हङकङ आउन थालेका हुन्। तर, सन् १९८४ मा बेलायत र चीनबीच सम्झौता भएपछि ब्रिटिस गोरखा सैनिकका सन्तानले हङकङ आईडी पाउन थाले। ब्रिटिस गोरखा सैनिकका सन्तानबाट तानिँदै नेपालीहरूको हङकङ प्रवेश १९९६ पछि झनै बढ्यो। यसरी बढ्दै गएका नेपालीको संख्या हङकङमा अहिले करिब ४० हजार छ। राम्रो कमाइ हुने ठाउँ, संसारका सुविधाको उपलब्धता, स्वतन्त्र जीवनशैलीका कारण पनि नेपाली युवाको नजरमा 'सपनाको शहर' कहलिएको हङकङमा यहाँको खर्चिलो जीवनशैली तुलना गर्ने हो भने कुनै दृष्टिले सपनाको शहर जस्तो लाग्दैन। हङकङमा रहेका पत्रकार जेबी पुनमगरको विश्लेषणमा नेपालीका लागि हङकङ बिलकुलै सपनाको शहर होइन। भन्छन्, 'नेपालबाट हेर्दा सपनाको शहरजस्तो लागे पनि यहाँको यथार्थ ठीक उल्टो छ।'
जोखिममा युवा पुस्ता
हङकङमा पछिल्लो समय युवा पुस्ताको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ। जोखिमपूर्ण काम गरेर नेपाली हिसाबमा राम्रै आम्दानी गरे पनि उनीहरूको कमाइले छोराछोरीलाई महँगो स्कुलमा पढाउन पुग्दैन। त्यसैले नेपालीले मध्यम खाले स्कुलमै छोराछोरी पढाउन पठाउँछन्। तर, अधिकांश नेपालीका छोराछोरीले एसएलसीसरहको लेबल पास गर्न सक्दैनन्। पास गर्ने थोरैले पनि त्यसपछिको उच्च शिक्षा पढ्न कडा प्रतिस्पर्धा गर्नुपर्छ। नेपालीले त्यसमा नाम निकाल्न मुश्किलै पर्छ। त्यसपछि युवा पुस्ता दुर्व्यसनमा लाग्न थाल्छन्। सात वर्षदेखि हङकङ बस्दै आएका सुजीत सुब्बा भन्छन्, 'यहाँ पढेका ५० प्रतिशतभन्दा बढी युवा पुस्ता दुर्व्यसनमा लागेका छन्। त्यसैले छोराछोरीको पढाइ यताभन्दा नेपालतिरै गर्दा राम्रो हुन्छ।'
यहाँ आएर दुर्व्यसनमा फसेका कतिपय युवाहरू पुलमुनि बस्छन्। पुलमुनि घरजस्तै ओत लाग्ने ठाउँमा सुत्ने, बस्ने उनीहरू लागुऔषध सेवन गर्छन्। नेपालभन्दा बढी नै स्वतन्त्रता दिइएको हङकङमा स्वतन्त्रताको गलत प्रयोग गर्दा नेपाली युवा पुस्ताको भविष्य भने अन्धकारतर्फ धकेलिएको छ। यहाँ पनि आफूलाई डन ठान्ने केही युवाले नेपालीका पसलमा हप्ता असुल्ने गरेको व्यवसायीहरू बताउँछन्।
हङकङ जोर्डनलगायत केही क्षेत्रमा खुल्लमखुल्ला यौनधन्दा चल्दो रहेछ। साँझ पर्न थालेपछि मसाज पार्लरका बोर्ड छेउमा मेकअपले सजिएका युवती ग्राहक बोलाउँदै सडकभरि भेटिन्छन्। रातभर खुल्ने यहाँका डिस्को, बार वरपर सडकमै आफ्नो सुन्दरता प्रस्तुत गर्दै तीन सयदेखि हजारौँ डलरमा यौनप्यास मेट्नेको बार्गेनिङ चल्दो रहेछ। यस्तो कार्यमा चीन र अन्य देशका युवती आउने गरेको स्थानीय बताउँछन्। यहाँ मातेर सडकमा हल्ला गर्दै हिँड्न पनि छूट छ तर कसैलाई हात चाहिँ लगाउन पाइँदैन। रातैभरि झिलिमिली हुने भएकाले यहाँ दिनरात छुट्याउन पनि मुश्किल पर्छ। रातभरि नै मान्छेको ओहोरदोहोर चल्छ, यातायात चल्छ। संसारका मान्छेको जमघट हुने यहाँ नेपाली युवा पुस्ताको बिग्रँदो अवस्थाले उनीहरूको भविष्यबारे सोच्नुपर्ने बेला आइसकेको छ।
नेपालको हावा
पछिल्लो समय नेपालमै पनि नेपाली समाज विभिन्न नामले विभाजित छ। त्यसको हावा यहाँ पनि प्रस्टै देखिन्छ। हुन त यहाँका नेपालीहरूबीच पहिलादेखि नै पूर्वेली र पश्चिमेली भनेर विभाजित मानसिकता छ। ब्रिटिस कालमै नेपालीलाई एकजुट हुन नदिन पूर्व र पश्चिमको रेखा कोरिएको भनिन्छ तर पछिल्लो समय नेपालको राजनीतिको दूषित हावाले यहाँका नेपालीलाई पनि गाँजेको पाइन्छ। यहाँ नेपालीबीच नै विभिन्न पार्टी, जाति, ठाउँका नाममा विभाजित समुदाय देख्न सकिन्छ। नेपालमा खुलेका धेरैजसो राजनीतिक दलका शाखा खुलिहाल्छन्। आ–आफ्नो विचारअनुसार संगठित हुने अधिकार त सबैलाई छ तर त्यसलाई सदुपयोग गर्दै सबै नेपाली एकजुट हुनुको साटो आफैँमा एक अर्कालाई नगन्ने भावनाको विकास भइरहेको देखिन्छ। यसले नेपाली समुदायलाई कमजोर बनाउने निश्चित छ।
देश विकासमा योगदान
त्यसो त यहाँ विभिन्न ठाउँ, नगरदेखि वार्ड–वार्डसम्मका समाज र समिति छन्। तिनले आफ्नो देशका लागि धेरै काम पनि गरेका छन्। ती समूहबीच आ–आफ्नो ठाउँको विकासमा योगदान पुर्यानउने अघोषित प्रतिस्पर्धा पनि चलेको छ।
यसले देशलाई फाइदै पुगेको छ। त्यसको उदाहरणका रूपमा धरानमा निर्माण भएको घण्टाघरलाई लिन सकिन्छ। धरान हङकङ मञ्चले यहाँबाट पैसा संकलन गरेर पठाएपछिमात्र घण्टाघर निर्माण सम्भव भएको हो। धरान, पोखरा र त्यसवरपरका क्षेत्रमा हङकङवासी नेपालीको सहयोगबाट यस्ता धेरै काम भएका छन्। नेपालका विभिन्न ठाउँमा बालगृह, वृद्धाश्रम, अपांगलाई सहयोग गर्नेदेखि लिएर आफ्नो ठाउँको विकासमा यहाँका नेपालीले ठूलो योगदान पुर्या एका छन्। आधिकारिक रूपमा कसैले हिसाब नराखे पनि कडा मेहनत गरेर कमाएको पैसाबाट देशका लागि करोडौँ सहयोग पुर्याकइसकेका छन्, यहाँका बासिन्दाले। नेपालीका विभिन्न संस्थाको छाता संगठन हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा भन्छन्, 'अहिलेसम्म यहाँका नेपालीले देशका लागि धेरै सहयोग गरिसकेका छन्। अझै पनि देश विकासमा ठूला योजना ल्याउने तयारी भइरहेको छ।'
भाषा साहित्यमा योगदान
नेपालीहरूले यहीँ बसेर पनि आफ्नो भाषा, कला, साहित्यको विस्तार पनि गरिरहेका छन्। यहाँबाट पत्रपत्रिका, नेपाली वेबसाइट सञ्चालन भइरहेका छन्। तिनले यहाँका नेपालीलाई आफ्नो भाषा, संस्कारदेखि देशको खबरसम्म पस्किरहेका छन्। यहाँ दर्जनभन्दा बढी पत्रकार, साहित्यकार छन्। यहाँबाट प्रकाशन हुने एभरेस्ट साप्ताहिकका सम्पादक किसन राई यहाँका नेपालीले आफ्नो कला, साहित्य र भाषाको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्यािएको बताउँछन्।
हङकङमा बस्ने विभिन्न जातिका नेपाली समुदायले आफ्नो चाडपर्व मनाउने र आफ्नो पहिचान खोज्ने काम गर्दै आएका छन्। यसपटकको तिहारमा यहाँ पनि देउसी खेलियो। दसैँतिहारसँगै चासोक तङ्नाम, साकेला, ल्होसारलगायत नेपाली चाडपर्व मनाइन्छन्। आ–आफ्ना संस्कार र संस्कृति खोज्ने क्रम पनि बढेको छ। चुम्लुङ अध्यक्ष लुङ्फुङ्वा आत्मसन्तुष्टिका लागि पनि आफ्नो संस्कृतिको खोजी गर्ने क्रम बढेको बताउँछन्।
कलाकर्मीका अभिभावक
नेपालमा कलाकारिताबाट जीवनयापन गर्न मुश्किल छ। थोरैले मात्र कलाकारिताबाट राम्रो जीवनयापन गर्न सक्ने अवस्था छ। तर, हङकङवासी नेपालीले नेपालका कलाकर्मीको अभिभावकका रूपमा सहयोग गर्दै आएका छन्। अहिले त नेपाली कार्यक्रम प्रस्तुत गर्न हङकङ आइपुग्नु नेपाली कलाकारको सफलताको मापदण्डका रूपमा हेर्न थालिएको छ।
विशेषगरी गायक र हास्य कलाकारले हङकङबाट बारम्बार निमन्त्रणा पाउने गरेका छन्। यहाँ हरेक साताजसो केही न केही कार्यक्रम आयोजना हुने गर्छन्। नेपालबाट समेत कलाकार निम्त्याएर कार्यक्रम आयोजना गरिन्छ। हङकङले कलाकार निम्त्याएर उनीहरूलाई आर्थिक रूपले पनि सहयोग गर्ने गरेको छ। १२ घण्टासम्म सुरुङभित्र काम गरेर कमाएको पैसाले नेपाली कलाकर्मीलाई निम्त्याएर सहयोग गर्नु कलाकर्मीका लागि सुखद पक्ष हो।
त्यसो त यही महिना हङकङमा दुई वटा फिल्म अवार्ड आयोजना भए। नेफ्टा र इन्फा अवार्डमा गरी सयजना कलाकार हङकङ आइपुगे। यही बेलामा 'कोहिनूर' फिल्म प्रदर्शन गरियो। अन्य फिल्मका च्यारिटी शो त यहाँ भइरहन्छन्। कतिपय फिल्म त हङकङमा च्यारिटी शो गर्ने उद्देश्यले समेत निर्माण हुन्छन्। यहाँ दुईपटक आफ्नो फिल्म '१२ नेपाली एक चिहान' प्रदर्शन गरिसकेका निर्देशक अरुण प्रधान भन्छन्, 'हङकङले कला क्षेत्रलाई ठूलो नैतिक र आर्थिक सहयोग गरेको छ।'
व्यवसायमा बढ्दो सहभागिता
बढी आम्दानी हुने तर जोखिमपूर्ण काममा बढी नेपाली युवा सक्रिय भए पनि पछिल्लो समयमा व्यापार–व्यवसाय गर्ने नेपालीको संख्या पनि बढ्दो छ भने म्यानपावर, कन्सल्ट्यान्सी, ट्राभस एजेन्सीलगायत सेवामूलक व्यवसाय चलाउने पनि बढिरहेका छन्।
यहाँ पाँच सयभन्दा बढी विभिन्न नेपाली पसल सञ्चालनमा छन्। हङकङको जोर्डन नेपालीहरूको बढी आवतजावत र बसोबास भएको क्षेत्र हो। यहाँको बजारमा ठाउँ–ठाउँमै नेपालीले सञ्चालन गरेका पसल, रेस्टुरेन्ट, बारको संख्या बाक्लो देखिन्छ। जोर्डनमा कंगना नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कमल पौडेल हङकङमा नेपाली व्यवसायीको संख्या बाक्लिँदै गएको बताउँछन्। व्यापारीको संख्या बढेपछि यहाँ नेपाल च्याम्बर्स अफ कमर्स, हङकङ नै गठन भएको छ। त्यसका उपाध्यक्षसमेत रहेका पौडेल २५ वर्षअघि रेस्टुरेन्ट म्यानेजरका रूपमा हङकङ आएका थिए। १५ वर्षदेखि उनी आफैँ नेपाली र इन्डियन आइटम पाइने कंगना चलाइरहेका छन्।
त्यसो त तीर्थबहादुर लिम्बूले सम्मान इन्जिनियरिङ लिमिटेड नामक कन्सल्ट्यान्सी सञ्चालन गरिरहेका छन्। उनको यो कम्पनीले नेपाली, नाइजेरियाली र चिनियाँ कामदारलाई समेत रोजगारी दिएको छ। विभिन्न भवनको निर्माण कार्यमा कामदार सप्लाई गर्दै आएको सम्मानले कमाउको भेनिसन स्विमिङ पुल, एयरपोर्ट, ११ वटा स्कुल, विभिन्न भवन निर्माण गर्न आफ्ना कामदार परिचालन गरेको छ। यस्ता कन्सल्ट्यान्सीको संख्या पनि बढ्दो छ।
भावना तुम्बाहाङ्फे हङकङ र नेपालबाट ट्राभल एजेन्सी सञ्चालन गर्छिन्। उनको एजेन्सीले युरोपेली मुलकदेखि नेपालसम्मका पर्यटकलाई टुर गराउँछ। यस्तै एजेन्सी, रेस्टुरेन्ट, कम्पनी सञ्चालन गर्नेहरूको संख्या पनि पछिल्लो समय बढेको उपाध्यक्ष पौडेल बताउँछन्। भन्छन्, 'हङकङमा व्यापार–व्यवसाय गर्ने नेपालीको संख्या बढिरहेको छ। यसले आगामी दिनमा नयाँ व्यापार व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गरिरहेको छ।

No comments:

Post a Comment