एउटा सुशी सेफको युरोप सपना र उनले भोगेको युरोप
म पोखराको ब्यस्त ठाउँमा एउटा नयाँ क्याफे चलाइ रहेका थिय । त्यो ब्यबसाय पनि सोचे जस्तो नभएपछि अचानक युरोप जाने भुत सवार भयो । अनि अनेक चक्कर काटेर ठुलो रकम खर्चेर पोर्तुगल छिरे ।
मेरो एउटै सपना थियो युरोपियन नागरिकता पाउने अनि धेरै कमाइ हुने देशमा गएर धेरै घण्टा काम गरेर छोटो समयमा मनग्गे पैसा कमाउने । मैले २०२२ को सेप्टेम्बरमा पोर्तुगिस नागरिकता पाउन सफल भए । अनि धेरै कमाइ गर्ने सपना बोकेर तुरुन्तै बेल्जियम तर्फ हान्निय ।
बेल्जियम पुगेको भोलिपल्टै मैले एउटा सुशी रेस्टुरेन्टमा काम सुरु गरे । त्यहाँ कमाइ पोर्तुगलको तुलनामा निकै राम्रै थियो । तर पनि मलाई त्यो कमाइ प्रती चित्त बुझेन र मैले क्लिनिङमा अर्को पार्टटाइम काम खोजे ।
रेस्टुरेन्टमा दिनको ८ घण्टा अनि क्लिनिङ्गमा ४ घण्टा गरेर मैले दैनिक १२ घण्टा काम गर्न सुरु गरे । त्यती काम गर्दा ट्याक्स कटाएर मैले करिब चौतिस सय युरो कमाइ गर्थे ।
घर भाडा, खाना, ट्रान्सपोर्ट, मोबाइल र अन्य सबै खर्च कटाएर मैले मासिक चौबिस सय युरो बचत गरिरहेको थिए । त्यतिमा पनि म सन्तुष्ट हुन सकिरहेको थियन र अझै धेरै कमाउने आशामा म हानिय अर्को आकर्षक गन्तब्य स्विजरल्याण्ड तर्फ ।
मैले zurich को एउटा सुशी रेस्टुरेन्टमा २२ दिन दैनिक ८ घण्टा गर्नु पर्ने काम भेटे । त्यहा मेरो कमाई पैतालिस सय देखि अठचालिस सय स्विस फ्र्याङ्क सम्मा हुन्थ्यो । त्यही पैसा बाट ट्याक्स तिर्नुपर्ने, हरेक महिना तीन सय फ्र्याङ्क इन्सुरेन्स तिर्नु पर्ने, रुम को भाडा, खाना खर्च, यातायात खर्च र अन्य खर्च गर्दा मासिक पच्चिस सय स्विस फ्र्याङ्क जोगिने भयो । मलाई त्यसमा पनि चित्त बुझेको थिएन तर पनि आँफै सँग सम्झौता गर्दै थिय तर त्यहा पनि मेरो मन अडियन ।
स्विजरल्याण्डमा पार्टटाइम काम पाउनै गार्हो । अङ्ग्रेजी खासै नचल्ने र त्यहिको भाषा सिक्नै पर्ने बाध्यता एकातर्फ थियो भने पछि श्रीमतिको लागि काम पाउन झनै झन्झट रहेछ । ती सबै परिस्थिती बिचार गरेर म फेरी बेल्जियम नै फर्कने निर्णय गरे अनि बेल्जियम फर्किएर पुरानै कामलाई निरन्तरता दिन थाले ।
म सुरु देखि नै बेल्जियम को काम र कमाइमा सन्तुष्ट हुन सकेको थिईन र त्यसको बिकल्प खोजिरहेका थिए । म सँगै पोर्चुगलमा काम गरिरहेका धेरै साथीभाइहरु पोर्तुगिस नागरिकता लिएर डेनमार्क गएर काम गर्न सुरु गरिसकेका थिए । डेनमार्कमा कमाइ पनि राम्रै हुने र गर्न सके जती घण्टा काम गर्न पाइने भनेर साथीहरु बाट सुने पछि मेरो मन फेरि डेनमार्क तर्फ मोडिन थाल्यो र अन्तत मेले डेनमार्क जाने निर्णय गरेर त्यतै तर्फ लागे ।
डेनमार्क पुग्ने बित्तिकै काम पाइएला, धेरै घण्टा हानिएला अनि धेरै क्रोनर बटुलिएला भन्ने मेरो सोच माथि तुसारापात हुन पनि खासै धेरै समय लागेन । म डेनमार्क उत्रने बित्तिकै युरोपास सिभी बनाएर यहाँका धेरै सुशी रेस्टुरेन्टमा कामको लागि एप्लाई गरे तर धेरैले अहिले काम नभएको रिप्लाई दिए । पछि मैले अरु कामको लागि पनि एप्लाई गर्न थाले तर पनि कुनै सकारात्मक सङ्केत भेटिएन ।
डेनमार्कमा सिपिआर बनाउन होस् चाहे सिरिमा दर्ता गर्न होस् चाहे बैङ्क एकाउन्ट खोल्नका लागि होस् कामको कन्ट्र्याक अनिबार्य छ र त्यसका लागि झन्झटिलो र लम्बेतान प्रकृया छ । त्यसका लागि अब म जस्तो सुकै काम गर्नु पर्ने बाध्यतामा अाइपुगेका थिए ।
पहिलो कुरा पोर्तुगलको चौध सय युरो कमाइ भनेको त्यहाँको सवालमा अत्यन्त आकर्षक र उच्च कमाइ हो । मेरो अनुभब र लगन देखेर साहुले मलाई धेरै मन पराएको थियो रेस्टुरेन्ट छोडेर नजान धेरै अनुरोध गरेको थियो । पोर्तुगलमा मलाई काम, दाम र सम्मान सबै थोक मिलेको थियो र पनि मलाई धेरै पैसा कमाउने रहरले अन्यत्रै डोहोर्यायो ।
बेल्जियममा पनि राम्रै थियो म त्यहाँ लगभग सेटल भईसकेका थिए र पनि मलाई अझै कमाउने लालचले कहिले स्विजरल्याण्ड त कहिले डेनमार्क पुर्यायो । पोर्तुगल देखि डेनमार्क सम्मको यात्रामा मैले धेरै उतार चढाब अनि आरोह अबरोह पार गरिसकेको छु । युरोप भन्नु एस्तै रहेछ भन्ने मलाई मनमा गहिरो सँग परिसकेको छ । आज सम्म जे जे भयो, जता जता डुलियो त्यसलाई एउटा सबक मानेर अब आउँदा दिनमा संसारकै खुशी मान्छे बस्ने देश डेनमार्कमा सुखी र खुशी हुँदै जहिले सम्म युरोप बसिन्छ सपरिवार डेनमार्कमै बस्ने अन्तिम निष्कर्षमा पुगेको छु ।
नेपालीमा एउटा उखान छ, “ बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ” जहाँ गए पनि हुने केही होइन, काम गर्नै पर्दछ, घोटिनै पर्दछ । देश अनुसार दुई चार सय युरो कमाइ तल माथि पर्ला तर राज्यले दिने सेवा सुबिधा पनि फरक पर्दछ । होइन भने युरोपमा शक्तिशाली र कमाइ धेरै हुने भनेर गनिएका देशमा त्यती धेरै भिन्नता छैन चाहे त्यो कमाइमा होस् या जीबनको गुणस्तरमा होस् । जहाँ बसिन्छ खुशी हुन सिक्नु पर्दो रहेछ अरुले के भन्छन् के गर्छन् कती कमाउँदछन भन्ने मात्र सोचेर सधैं डौदियो भने जीबन झन दु:खमा फस्ने निश्चित छ चाहे पासपोर्टको रङ्ग रातो होस् या हरियो ।
No comments:
Post a Comment