खुशी छैनन् विदेशमा नेपाली

- उद्वव भट्टराई

 ‘जीवनमा नराम्ररी फसियो, न रमाएर यहाँ वस्न सक्छु न सुखि भएर नेपाल नै फर्कन सक्छु’ वेल्जियमको एन्थ्रोपेनमा भेटिएका महेन्द्र पौडेलले दुखेसो पोखे । उनी एक वर्षदेखि वेल्जियममा वसिररहेका छन् न उनले राम्रो काम पाउन सकेका छन् नत कुनै कागजी डकुमेण्ट नै । कहिले वेलायत, कहिले पोर्चुगल, कहिले वेल्जियम अनि कहिले फ्रान्समा घुम्दै हिडेका चितवनका दिपक पौडेलले काम खोजेको पनि ६ महिना भइसक्यो । उनले कतै पनि काम पाउन सकेका छैनन् । उनी नेपाल फर्कन पनि सकेका छैनन् उतै वस्न पनि सकेका छैनन् । साथीभाईको साहारा खोज्दै उनी भौतारिरहेका छन् । नेपालको ठमेलमा राम्रो व्यवसाय संचालन गरिरहेका काठमाडौका महर्जन थरका नेपाली धेरै पैसा कमाउने उद्देश्यले व्यपारको सिलसिलामा नै फ्रान्स पुगे ।
उनी अहिले एउटा रेष्टुरेन्टमा सामान्य जागिर खान्छन् । उनको पनि भनाई एउटै छ– नेपालमा केही गर्न सकिएन अनि आइयो न अहिले नेपाल जान सकिन्छ नत यहाँ नै खुशी साथ वसिरहेको छु । उनी भन्छन्– ‘जागिर अनि जिन्दगी ।’ लक्जेम्वर्गमा वस्दै आएका नारायण गुरुङको अधिकांश समय उतै वित्न लागिसकेको छ । उनले एक रेष्टुरेन्ट पनि संचालन गर्दै आएका छन् । उनले राम्रो कमाई रेष्टुरेन्टवाट गर्छन् तर उनी पनि त्यहाँ वस्नुमा खुशी छैनन् । उनले आफ्ना परिवारका साथमा एउटा घर लिएर वसेकाछन तर उनी सकेसम्म चाँडो नेपाल फर्कन चाहन्छन् । उनीमा त्यहाँ वस्नुमा कुनै चैन छैन । यूरोपका भिन्न भिन्न ठाउँमा भेटिएका भिन्न भिन्न नेपालीहरुको यर्थाथ हो यो । सवैको आ–आफ्नो कठिनाई भएपनि वाध्यता एउटै छ । सवै नेपालीहरु यूरोपमा कमाउने र राम्रो भविष्य वनाउने उद्देश्यले पुगेका भएपनि कोही पनि खुशी भने रहेका छैनन् । महेन्द्र, दिपक, महर्जन र गुरुङ मात्र होइन यूरोपमा भेटिएका अधिकांश नेपालीहरु त्यहाँ रमाएका छैनन् । उनीहरु आफै भन्न पछि पर्दैनन्की ‘हामी नेपालमा केही गर्न नसकेर विदेशीएका हौ ।’ युरोप भन्नेवित्तिकै विश्वका मानिस एक पटक भएपनि त्यहाँ पुग्न चाहान्छन् । त्यसमा पनि नेपालीहरु भने हरेक पलमा युरोपकै सपना बुनिरहेका हुन्छन् । वास्वतमा सपनाको युरोप नेपालीका लागि विपना बनिरहेको छैन । औंलामा गन्न सकने केही नेपालीहरु वाहेक अधिकांश नेपालीहरु यूरोपसँग रमाएका छैनन् । बाहिरी सुन्दरता अनि विकासमा धेरै अगाडि रहेको युरोप नेपालीका लागि बाहिरी आडम्बर मात्र बनिरहेको छ । धेरै नेपालीहरु अस्थित्वको लागि युरोपमा संघर्ष गरिरहेका छन् भने कयौँ नेपालीहरु रोजगारी खोज्दै भौँतारिरहेका भेटिन्छन् । नेपालमा भने युरोप जानेबित्तिकै जीवन परिवर्तन हुन्छ भन्ने सोच राख्नेहरुका लागि युरोप त्यति सजिलो वनिरहेको छैन । महेन्द्र नेपालमा पत्रकारितामा गर्दै गर्दा वेल्जियमम हानिएता पनि सो कार्यवाट टाढा हुन सकेका छैनन् । उनी वेलावेलामा अझै लेख्ने पनि गर्दछन् । श्रीमतीलाई समेत लिएर वेल्जियम पुगेका महेन्द्र जीवनको दोसाँधमा भएको वताउँछन् । उनी अहिले कागजी प्रकृयामा भएकाले कहि जानपनि सक्दैनन्, भन्छन्– ‘अझै कति भासिनु पर्ने हो, आशै आशमा जीवन वित्ने भो ।’ अर्का दिपकको कहानी वेग्लै छ । उनी नेपालवाट आजित भएर विदेशमा पैसा कमाउने भन्दै भासिए, अहिले उनले न पैसा कमाए नत खुशी नै । उनी नेपाल फर्कन पनि सकेका छैनन् । उनी भन्छन्–‘कमाउन भनेर यूरोप छिरियो न कमाउन सकियो न उम्कन नै ।’ यी व्यवस्थाहरुले अधिकांश नेपालीलाई च्यापेको छ । नेपालवाट यूरोप भन्ने वित्तिकै पैसा फाल्ने ठाउँ भन्ने जुन आकांक्षा छ, त्यो प्रायः असम्भव नै छ । कर्म गर्नेहरुका लागि नेपाल नै उपयुक्त थलो भएको बताउने युरोपमा रहेका नेपालीहरु स्वदेशमा पनि सम्भावनाका धेरै ढोका भएको स्वीकार्छन् । अनि उनीहरु नै भन्छन्, ‘बाध्यता वा रहरले भासियो ।’ अधिकांश नेपालीहरु युरोपमा रहेर फसेको बताउँछन् । नेपाल फर्कन चाहेर पनि नसकिएको उनीहरुको कथन छ । समग्रमा भन्दा युरोपमा रहेका नेपालीहरु असन्तुष्टिमा गुज्रिरहेका छन् । जो, जुनसुकै बेला नेपाल फर्कन चाहान्छन्, तर सकिरहेका छैनन् केवल सोचिरहेका छन् । हरेक दिन प्रवासमा वस्ने नेपालीहरु नेपालको वारेमा सोचिरहेका हुन्छन् यद्यपी नेपालमा वस्नेहरुलाई कुनै वास्ता नै हुँदैन । युरोपमा बसेर जिविकोपार्जन मात्र भएको बताउने धनुषाका सुमन कार्की विगत १२ वर्षदेखि फ्रान्सको पेरिसमा बस्दै आएका छन् । उनी आफैं युरोप छिरेर कुनै प्रगति गर्न नसकेको स्वीकार्छन् । यद्यपि उनी आफ्नो परिवारसहित सानो फ्ल्याट लिएर पेरिसमा बसिरहेका छन् । उनलाई कत्तिपनि पेरिसको विकास र बाहिरी सुन्दरता मन परेको छैन । उनी भन्छन्, ‘१२ वर्ष युरोपमा बसियो, तर कुनै प्रगति गर्न सकेको छैन ।’ जीविकोपार्जनका लागि मात्र दिनरात नभनि काममा घोटिने कार्की नेपालमा राम्रो वातावरण हुने हो भने जुनसुकै बेला फर्कन चाहान्छन् । उनी युरोपमा आएर कमाउने सपना बोक्नु निरर्थक भएको बताउँदै पछिल्लो समयमा आउने नेपालीहरुले काम नपाउने र भाषाको समस्याले गर्दा धेरै ठूलो चुनौतीहरु नेपालीले भाग्नु परेको यथार्थ सुनाउँछन् । उनी भन्छन्, ‘अन्य देशमा जाने नेपालीहरुले कमाएर नेपालमा केही गरेका छन्, तर हामी युरोपमा बस्नेहरु दिनमात्र काटिरहेका छौं ।’ कार्की मात्र होइन, युरोपमा बस्ने अधिकांश नेपालीको भनाई यस्तै छ । सुख कमाउन भासिएका नेपालीहरु हरपल दुःखका पोकाहरु मात्र पोखिरहेकाछन् । सुन्दर सपना वुनेका धेरै नेपालीहरु यूरोपको व्यस्ततावाट थर्किन्छन् तर पछि विस्तारै वानी परेता पनि रमाउन भने सक्दैनन् । उनीहरुलाई नेपालको यादले हरपल सताइरहन्छ । एनआरएन वेल्जियमकी अध्यक्ष जानकी गुरुङ भन्छिन्– ‘यूरोपमा रहेपनि आधा मन नेपालमा नै हुन्छ, अनि नेपालको लागि नै केही गर्न मन लागिरहन्छ ।’ लामो समयदेखि फ्रान्समा बस्दै आएका विनोद खकुरेल नेपालीहरु अन्धकारमा विदेशिँदा दुःख पाएको बताउँछन् । युरोपमा सबैभन्दा ठूलो समस्या भाषाको रहने उनको ठहर छ । छुट्टै भाषा बोल्नुपर्ने भएकाले पनि नेपालीहरुलाई युरोप धेरै अप्ठ्यारो हुने उनको भनाई छ । उनी भन्छन्, ‘युरोपका मानिसहरु अंग्रेजी भाषा जाने पनि बोल्दैनन्, स्थानीय भाषा नै जान्नु पर्ने नेपालीको बाध्यता छ ।’ भाषाको समस्याले पनि धेरै नेपालीहरु यूरोपमा नरमाएका हुन् । यता करिब डेढ वर्ष अगाडि राजदूत बनेर फ्रान्स पुगेका मोहनकृष्ण श्रेष्ठ युरोपमा रहेका नेपालीहरु सबै खुशी नरहेको बताउँछन् । युरोपका विभिन्न देशमा आ–आफ्नो व्यवसाय, पेशा र अध्ययनका लागि नेपालीहरु रहेपनि सबैको मन नेपालमा नै हुनेगर्छ । विदेश भन्ने बित्तिकै हाम्फाल्ने नेपालीहरुले विदेशमा पनि धेरै दुःख पाइरहेका छन् । प्रवासमा रहेका नेपालीहरु सम्बन्धित देशको बारेमा सामान्य जानकारी मात्र लिएर गएको खण्डमा कुनै समस्या नआउने जानकारहरु बताउँछन् । आज धेरै नेपालीहरु अर्काको बहकाउ र लहलहैमा लागेर खाडीमा मात्र होइन, युरोपमा पनि विचल्लीमा परेका छन् । अझ युरोप जाने नेपालीहरुले ठूलो रकम फसाएर गइरहेका हुन्छन् । पछिल्लो समयमा त पोल्याण्ड जाने नाममा धेरै नेपाली युवाहरु फसेको उदाहरण हामीसामू छर्लङ्ग नै छ । ‘युरोप घुम्न र अध्ययन गर्नका लागि उपयुक्त ठाउँ हो, तर यतै भविष्य बनाउन धेरै कठिनाईहरु छन्’ फ्रान्सका लागि नेपाली राजदूत श्रेष्ठ भन्छन् । सामाजिक सुरक्षा र नियम कानून कडा रहेका युरोपले नेपालीहरुलाई तानेको एकथरीको भनाई छ । यस्ता देशमा सबै कुराहरु नियममा चल्ने हुँदा कुनै समस्या आउँदैन । आज धेरै नेपाली नेपालको अस्तव्यस्तताबाट आजित भएर युरोप हानिएको अर्थविद् डा. चिरन्जीवी नेपाल वताउँछन् । नेपालमा संभावनाका अवसर नदेखेर नेपालीहरु विदेशीएको उनको ठहर छ । अर्का समाजशास्त्री डा. गणेश गुरुङ जुनसुकै देशका नागरिक राम्रो अवसरको खोजिमा विदेशीरहेको वताउँछन् । उनी भन्छन्–‘ अमेरिकाका नागरिक खाडीमा काम गर्न गइरहेका हुन्छन् भने खाडीका अमेरिकामा ।’ १७ वर्षदेखि जर्मनीको फ्र्यांकफर्टमा बस्दै आएका अर्घाखाँचीका श्याम खनाल सामाजिक सुरक्षा पाएको हुँदा उतै वसेको वताउँछन् तर उनी विदेशमा कमाएको एक रुपैयाँ भएपनि नेपालमा नै पठाइरहेको दावी गर्दछन् । यूरोपवाट नेपालमा रेमिट्यान्स आउँदैन भन्नेहरुका लागि उनले गतिलो उत्तर दिएका छन् । उनी भन्छन् – ‘कमाएको पैसा नेपाल पठाउँछौ र फुर्सदको समयमा नेपालमा नै जाने र नेपालको लागि नै केही गर्ने अठोट छ ।’ नेपालीहरुले युरोपमा जस्तोसुकै राम्रो काम गरेर बसेता पनि सन्तुष्ट भने कोही छैनन् । अवसर पाउने वित्तिकै प्रत्येक नेपालीहरु स्वदेश नै आउन चाहान्छन् । नेपाल सरकारले सबै प्रवासीएका नेपालीहरुलाई स्वदेशमा नै अवसर दिन सके विदेशमा आर्जन गरेको सिप र पैसाले समृद्ध नेपाल बन्ने निश्चित छ । अझै पनि राजनैतिक झमेलामा अल्झेर देश विकासतिर नलाग्ने हो भने अझै धेरै नेपालीहरु नेपाल छोड्दै विदेश छिरिरहने छन् । यूरोपको विकासलाई नेपालीले उतै अनुसरण गर्नु वाहेक अरु केही हुने छैन ।

No comments:

Post a Comment