सकारात्मक सोच

व्यक्तिको सोचले पनि उसको स्वास्थ्यमा उत्तिकै प्रभाव पार्छ । जसरी नकारात्मक विचारधाराले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ त्यसरी नै सकारात्मक सोच स्वास्थ्यका लागि फलदायी हुन्छ । जीवनदर्शनका विचारक ओशो रजनीशका अनुसार मनुष्यको सुन्दरता धेरै हदसम्म उसको मुडमाथि निर्भर हुन्छ । व्यक्ति सबैभन्दा कुरूप तब लाग्छ जब ऊ क्रोधको अवस्थामा हुन्छ । त्यसको ठीक विपरीत ऊ तब सुन्दर देखिन्छ जब सहज अवस्थामा हुन्छ । डिप्रेसन, ब्लडप्रेसर आदि कतिपय रोग त्यसै पनि ठीक हुन्छन् । ओशोका अनुसार स्व तथा स्थ यी दुई शब्दबाट स्वास्थ्य बन्छ । यस अर्थमा स्वस्थको अभिप्राय हुन्छ, व्यक्ति स्वयंमा स्थित छ । स्वयंमा स्थित हुने कुरा सीधा मनोदशासित जोडिन्छ । ओशोका अनुसार व्यक्तिले जबसम्म आफ्नो दृष्टि भौतिक संसाधनमा केन्दि्रत गरिरहन्छ तबसम्म ऊ आत्मतत्त्वतर्फ दृष्टि लगाउन सक्दैन र तनावग्रस्त रहन्छ । आत्मतत्त्वतर्फ ध्यान केन्दि्रत हुन थालेपछि तनाव विस्तारै टाढा हुँदै जान्छ र व्यक्ति रोगबाट पनि मुक्त हुन्छ । यही नै स्वास्थ्य हो ।

सकारात्मक सोच राख्नु करिअर विकासका लागि महत्वपूर्ण हुन्छ। वास्तवमा सकारात्मक सोच नै सफलताको अर्को महत्वपूर्ण पक्ष हो। आफू सकारात्मक हुनको लागि साथीभाइ पनि सकारात्मक हुनुपर्छ। त्यसैले सफल हुनका लागि आवश्यक छ सकारात्मक सोच राख्ने मानिसको साथ। सफल व्यक्तित्व बनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भनेको सकारात्मक सोच हो। धेरैजसो कार्यालयमा केही यस्ता मानिस हुन्छन् जो हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्छन्। यस्तो विचारले काममा चुस्तता ल्याउनेभन्दा पनि नैराश्य जन्माउँछ। आफ्नो कार्यालय र कार्यस्थलको वातावरण मैत्रीपूर्ण र रमाइलो बनाउनुपर्छ। राम्रो र मित्रवत् व्यवहार भएमा त्यसले हरेक काममा सहयोग, साथ र हौसला बढाइरहन्छ। सहकर्मी र साथीभाइलाई बुझ्न सकिन्छ। समग्रमा समूहको कार्यक्षमता र दक्षता बढाउँछ।

No comments:

Post a Comment