3
मनोज दाहाल- घरबाट दुई सय मिटरजति मात्र पर पुगेको थिएँ, पानी छिट्याउन थालिहाल्यो। जाडो मौसममा पानीका केही थोपाले नै जिउको तापक्रम स्वात्तै घटाइदिन्छ र लगलगी कमाउन थालिहाल्छ। मीनभवनसम्म त तर्याकतुरुक परेको पानी ऊनीको टोपीले छेक्ने प्रयास गर्दै थिएँ, त्यहाँदेखि भने आकाश मजैले बर्सन थाल्यो। जुत्ता पहिल्यै भिजिसकेका थिए, जिउ पनि भिज्न थाल्यो।
विज्ञहरूका अनुसार सामान्य स्थितिमा शरीरको तापक्रम २० देखि २५ डिग्री सेन्टिग्रेड हुनुपर्छ। वातावरणको प्रभावले शरीरको तापक्रम त्योभन्दा बढ्यो वा घट्यो भने गर्मी वा जाडो हुन्छ। मेरो शरीरको तापक्रम त अहिले २० डिग्रीभन्दा निकै तल झरिसक्यो होला!
ढाडमा भिरेको झोला खोतलेँ र पुरानो अंग्रेजी अखबार निकालेँ। त्यही अखबार टाउकोमाथि फैलाएर जोडले समातेँ र हिँडाइको बेग अलि बढाएँ। अखबार ओढेर नयाँ बानेश्वरको बेकरी क्याफे पुग्दा म आधाभन्दा बढी भिजिसकेको थिएँ। भिजेर लफ्रक्क परेको अखबार डस्टबिनमा मिल्काएर क्याफेको प्यासेजमा हिँड्दै गर्दा उत्तरपट्टिको कुनामा बसेको साथीले नाम काढेरै बोलायो।
मुन्टो उठाएर हेरेँ, म भिजेको देखेर ऊ खित्का छाडिरहेको रहेछ। बेसोमती!
आफू भिजेर जाडोले काँपिरहेका बेला साथी हाँसेको देखेर कन्सिरीका रौं ताते। डाउनको न्यानो ज्याकेट लगाएर ऊ क्याफेको आरामी कुर्सीमा यसरी तन्केर असरल्ल परेको थियो, मानौं बाहिर चरक्क घाम लागेको छ र सहर २५ डिग्री सेन्टिग्रेडको न्यानोमा आल्हादित छ।
जाडो मिसिएको पानीले भिजेको शरीर लिएर फनफनिँदै म ऊ बसेको टेबलमा पुगेँ र चिसो झोला एउटा सिटमा फ्यात्त राखिदिएँ। रिसले मुर्मुरिएको म शरीरको पानी टक्टक्याउँदै केही बोल्न खोज्दै थिएँ, उसैका ओठ फर्फराए, ‘काठमाडौंमा मौसमको भर हुँदैन भन्ने थाहा छैन तिम्लाई?'
‘धेरै जान्ने नहोऊ, काठमाडौंको मौसमबारे मलाई तिमीभन्दा बेसी नै थाहा होला, तर तीनकुनेबाट यहाँसम्म आइपुग्दै आरी घोप्ट्याएजसरी पानी दर्केला भन्ने कसले सोचेको हुन्छ?' टेबलमा राखेको न्यापकिनले जिउ पुछ्दै मैले भनेँ।
‘हेर, कस्तरी भिजेको त! ट्याक्सी लिनुपर्थ्यो नि,' साथी बोल्यो।
कुरा सुनेर एक मन त मलाई लागेको थियो, यसका गालामा एक ठ्याम लगाइदिउँ, पाँचै औंलाको डाम बस्ने गरी। तुरुन्तै सम्हालिएँ र भनेँ, ‘कुन सहरमा बस्छौ साथी तिमी? भन्नेबित्तिकै ट्याक्सी कहिलेदेखि पाइन थालेको छ काठमाडौंमा? त्यही पनि भारतले तेल नदिएको यस्तो बेलामा! सबै ट्याक्सी मीनभवनको पेट्रोलपम्पमा जाम लागेका छन्।'
ऊ फेरि बोल्ला र मलाई जवाफ फर्काउनु पर्ला भनेर सोच्दै थिएँ, टेबलमा वेटर आइपुग्यो र अर्डर सोध्यो। मैले हट एन्ड सावर सुप मगाएँ, उसले चिकेन थुक्पा।
सुप खाइसकेर जिउ अलि तातेपछि बल्ल म हाँसेँ र बोलेँ, ‘कस्तो झ्याउलाग्दो छ काठमाडौंको मौसम, मलाई त कहिलेकाहीँ दिक्क लागेर आउँछ, घरबाट हिँड्दा पानी पर्ने कुनै सुरसारै थिएन।'
ऊ पनि हाँस्यो र भन्यो, ‘काठमाडौंमा त छाता नबोकी हिँड्नै हुँदैन, कुन बेला पानी पर्छ, केही भरै हुँदैन।'
मनसुनकै बेला त छाता नबोकी हिँड्ने मलाई साथीको उपदेशले एक रत्ति पनि छोएन। काठमाडौंमा मौसमको भर हुँदैन भन्ने तथ्यमा भने हामी दुवैको मत मिल्यो।
यसमा कसको पो मत नमिल्ला!
एक कदम अगाडि बढेर मैले उसलाई आफूले काठमाडौं आउनेबित्तिकै सुनेको एउटा कथा सुनाएँ :
गुल्मीतिरबाट क्याम्पस पढ्न काठमाडौं आएको एउटा ठिटो सहरमा घुमिरहेका बेला अचानक दरङदरङ पानी पर्न थालेछ। दर्केको पानीले लफक्कै भिजेपछि ऊ दौडँदै बाटोमा हिँडिरहेका एकजना बुढा मान्छेको ठूलो छातामुनि ओत लाग्न पुगेछ। काठको डन्डी भएको आफ्नो ठूलो छातामा त्यो गुल्मेली ठिटोलाई ओत दिँदै ती काठमाडौंका बुढा बाले सोधेछन् :
‘किन छाता नबोकी हिँड्यौ त बाबु?'
ठिटो एकछिन त अक्मकिएछ।
केही बेरमा भनेछ, ‘कहाँ छाता बोक्नु बाजे? बिहान घरबाट बाहिर निस्कँदा झलमल्ल घाम लागेको थियो। पानी पर्ला भन्ने त अन्दाजै भएन नि!'
बुढा हाँसेछन् र हात हल्लाउँदै भनेछन्, ‘बाबु, तिमी काठमाडौंमा नयाँजस्तो छौ, यहाँ त कुन बेला घाम लाग्छ, कुन बेला पानी पर्छ, केही भरै हुँदैन, यहाँ पानी पर्यो भने त्यहाँ घाम लागिरहेको हुनसक्छ!'
ठिटो ङिच्च हाँसेछ। बुढाले थपेछन्, ‘काठमाडौंको मौसम त कति भर पर्न नसकिने खालको छ भने बाबु, गोरुका दुइटा सिङमध्ये एउटा पानी परेर भिज्यो भने अर्कोतिर सुख्खै हुन पनि सक्छ।'
...
पानीले लफक्कै भिजाएको भोलिपल्ट काठमाडौं एयरपोर्टस्थित मौसम पूर्वानुमान महाशाखामा वरिष्ठ मौसमविद राजेन्द्र श्रेष्ठसँग मैले यही कथा दोहोर्याएँ।
खिरिलो ज्यानका झन्डै ५५ वर्ष पुगेका यी मौसमविद मेरो कुरा सुनेर हिहिही गर्दै हाँसे र भने, ‘बडा ठिक कुरा गर्नुभो, ठ्याक्कै यस्तै छ काठमाडौंको मौसम, केही भरै हुँदैन।'
उनले अबदेखि काठमाडौंको मौसमबारे बताउनुपर्यो भने यही कथा सुनाउने बताए। अनि थपे, कमसल उपकरण भएकै कारणमात्र काठमाडौंको मौसम पूर्वानुमान गर्न नसकिएको होइन, विदेशतिरकै प्राविधिक त्यहीँकै उपकरण लिएर आए भने पनि यहाँको मौसम ठ्याक्कै पूर्वानुमान गर्न सक्दैनन्।
किन यति बिन्दास छ त काठमाडौंको मौसम, भविष्यवाणी नै गर्न नसकिने?
‘यो सहरको मौसमको सबैभन्दा ठूलो विशेषता भनेको भविष्यवाणी गर्न नसक्नु नै हो, अनप्रेडिक्टेबल छ यहाँको मौसम,' मुसुमुसु हाँस्दै श्रेष्ठजीले भने।
‘वरिपरि डाँडैडाँडाले घेरिएको काठमाडौं उपत्यका चिसो एस्ट्रेजस्तो हो, यहाँ हावाको गति एकनास हुँदैन,' उनले मलाई बुझाए, ‘हावाको गति एकनास नहुने ठाउँको मौसम भविष्यवाणी गर्न सकिँदैन।'
चिसो एस्ट्रेको उपमा रमाइलो लाग्यो। हो नि! जाडोको काठमाडौं चिसो एस्ट्रे नै त हो, जमिन र जमिनको सतह लफक्कै भिजेको हुन्छ। चिसोले जमिनमै थेचारिएका धुलोका कणले एस्ट्रेको घेरा नाघ्नै सक्दैनन्।
भनेपछि उपत्यका भएकै कारण रहेछ काठमाडौंको मौसमको ठेगान नभएको। सामान्यतयाः बाहिरबाट आउने हावा र कुनै ठाउँविशेषको तापक्रमको अध्ययनबाट मौसम भविष्यवाणी गरिन्छ। ‘तर, काठमाडौं भित्रिने हावाको गति सधैं एकनास हुँदैन,' श्रेष्ठजीले आफ्नो कार्यालयको झ्यालबाट दक्षिणतिर अरगज्ज ठडिएको फुल्चोकी डाँडा देखाउँदै भने, ‘त्यसले हावा छेकेपछि एकपटक चिसिएको काठमाडौं तात्दै तात्दैन।'
जमिनको सतहमै जम्मा भएर बसेको धुलोको कण घामको तातो र हावाको बहाव दुवैले वायुमण्डलको निकै माथि नपुर्याएसम्म काठमाडौंमा हुस्सु लागिरहन्छ भनेर श्रेष्ठजीले मलाई बुझाए।
श्रेष्ठजीले २०३६ साल अन्तिम महिनातिर मौसम विभागमा जागिर सुरु गर्दा काठमाडौं अहिलेजस्तो प्रदूषित भइसकेको थिएन। अहिलेजसरी नै यहाँ मौसमको कुनै भर त थिएन तर उसबेला बुढो साँढे पल्टिएझैं सहरको आङमा दिनभरि गजधम्म परेर बसिरहँदैन थियो हुस्सु।
त्यो बेलाको काठमाडौं र अहिलेको काठमाडौंमा आकाशजमिनको अन्तर आइसकेको छ। सवारी साधन वृद्धि, वन फँडानी, सहरीकरण, उद्योग, बाक्ला बस्ती, सडकले काठमाडौं धेरै कुरूप भइसकेको छ। काठमाडौंको आकाशमा अहिले हावाभन्दा बेसी विष फैलिएको छ।
अहिले काठमाडौंको सबैभन्दा ठूलो समस्या नै प्रदूषण हो। धुलोधुवाँ। प्रदूषणले नै हुस्सु र कुहिरो बढेको हो। नाक पिरो हुन थालेको हो। श्वासप्रश्वासका रोगी बढेका हुन्। अस्पतालहरूमा आइसियु भरिन थालेका हुन्। आइसियु नपाएर बिरामी मर्न थालेका हुन्।
पानी परेपछि त अझ जमिन र वातावरणमा एक प्रकारको नरमपना हुन्छ। जाडोयाममा तापक्रम पनि कम्ती हुन्छ। धुलोका कण वातावरणमै एकीकृत भएर बस्छन्। त्यस्तो बेला काठमाडौं नजिकैको लाक्पा दोर्जे हिमाल पनि टाढा देखिन्छ। गौरीशंकर त देखिँदै देखिँदैन भने पनि हुन्छ। यहीँ मास्तिरको शिवपुरी डाँडा पनि सहर ढाकेर सुतेको डाइनोसरको मधुरो आकृतिजस्तो मात्र देखिन्छ।
हिजोआज काठमाडौंमा हुस्सु लाग्ने समय बढेको छ। पहिले पनि जाडोयाममा दुई महिनाजति हुस्सु त लाग्थ्यो तर दस बज्दानबज्दै फाटिसक्थ्यो। पारिलो घाम लाग्थ्यो। दिन न्यानो हुन्थ्यो।
अहिले त वायुमण्डलमा धुलोको मात्रा बढेको छ। जाडोयाममा घाम नलागेका बेला दिनभरिजसो हुस्सु लागिरहन्छ। घाम लागेकै बेला पनि प्रकाश मधुरो हुन्छ। दिन धुम्म हुन्छ। आँखा तम्तमाइलो हुन्छ। पोलिरहन्छ।
चिसो बढेपछि आद्रता बढ्छ, पानीको बाफ वस्तुमा परिणत भएर वायुमण्डलमै टाँसिइरहन्छ। हुस्सु भनेको जमिनको सतहमा हुने एक प्रकारको बादल नै त हो। तापक्रम बढेपछि बल्ल हुस्सु हट्छ तर राम्ररी तापक्रम नै कहाँ बढ्छ! काठमाडौं वरिपरि डाँडा भएकाले हावा पनि राम्ररी चल्न पाउँदैन। हावाले माथिमाथि लैजानुपर्ने हुस्सु जमिनको सतह वरिपरि नै जम्मा हुन्छ। दिनभरि धमिलो भइरहन्छ।
श्रेष्ठजीले मौसम विभागमा जागिर थाल्दा बल्ल भक्तपुरबाट काठमाडौं नियमित बस चल्न थालेका थिए। त्योभन्दा अघि भक्तपुर घर भएको मान्छे काठमाडौंमा जागिर खाँदा यतै डेरा गरेर बस्नुपर्थ्यो। अर्को उपाय थिएन।
श्रेष्ठजीकै बुबा काठमाडौंमै डेरा बसेर जागिर खान्थे। चाडबाडका बेलामात्र घर जान्थे। काठमाडौंदेखि भक्तपुर दिनमा दुइटा बस चल्थे, ती पनि खासै नियमित थिएनन्। दैनिक ओहोरदोहोर गर्ने सम्भावना नै थिएन। दिनदिनै घन्टौं हिँडेर आइजाइ गर्न सकिँदैन थियो।
श्रेष्ठजीहरू सानै थिए। सामान ओसार्न भक्तपुर-काठमाडौं लरी चल्थे। त्यही लरीभरि लोड गरेको सामानमाथि बसेर श्रेष्ठजीहरू भक्तपुर-काठमाडौं ओहोरदोहोर गर्थे। भक्तपुरबाट राजधानी टाढा थियो। बास बस्दै आउनुपर्थ्यो।
श्रेष्ठजीहरू सानै थिए। सामान ओसार्न भक्तपुर-काठमाडौं लरी चल्थे। त्यही लरीभरि लोड गरेको सामानमाथि बसेर श्रेष्ठजीहरू भक्तपुर-काठमाडौं ओहोरदोहोर गर्थे। भक्तपुरबाट राजधानी टाढा थियो। बास बस्दै आउनुपर्थ्यो।
सहर टाढा भए पनि भिजिबल थियो। भक्तपुरबाट काठमाडौं छ्यांग देखिन्थ्यो। अहिलेजस्तो भिजिबिलिटी कमजोर थिएन। विदेशबाट आएका हवाइजहाज भिजिबिलिटी कमजोर भएर लखनउ डाइभर्ट गर्नु पर्दैनथियो। अहिले त काठमाडौं एयरपोर्टको भिजिबिलिटी कति कमजोर भएको छ भने दैनिक दुईचार वटा प्लेन कोलकाता, बनारस वा लखनउ डाइभर्ट हुनु सामान्य भइसकेको छ।
त्यतिखेर पनि अहिलेजस्तै काठमाडौंको मौसमको भर थिएन तर वायुमण्डल प्रेमिल थियो। भक्तपुर-काठमाडौं ओहोरदोहोर गर्ने लरीकै छतमा बसेर लामो सास तान्दा पनि फोक्सोको अन्तिम खण्डसम्म अक्सिजन चलमलाएको प्रस्टै थाहा हुन्थ्यो।
...
जनवरी काठमाडौंको उराठलाग्दो महिना हो। घाम धमिलो हुन्छ। हुस्सुले मन भारी पारिरहन्छ। ओछ्यान चिसो हुन्छ। हुस्सु र कुहिरोले दिन अँध्यारो पारिदिन्छ, लोडसेडिङले रात यसै चकमन्न हुन्छ। सहरमा मृत्यु निरवता हुन्छ।
...
जनवरी काठमाडौंको उराठलाग्दो महिना हो। घाम धमिलो हुन्छ। हुस्सुले मन भारी पारिरहन्छ। ओछ्यान चिसो हुन्छ। हुस्सु र कुहिरोले दिन अँध्यारो पारिदिन्छ, लोडसेडिङले रात यसै चकमन्न हुन्छ। सहरमा मृत्यु निरवता हुन्छ।
काठमाडौंमा उराठिलो समय डिसेम्बरमै सुरु हुन्छ र फ्रेबुअरीसम्म रहिरहन्छ। जिउ फोहोर, अल्छी र भारी लागिरहन्छ।
मार्चमा पनि काठमाडौंको आकाशमा तुँवालो लागिरहन्छ। जाडो त हुँदैन तर पानी पर्दैन। हावा बग्दैन। बाहिरबाट बगेर आएको हावा डाँडाहरूले छेकिदिन्छन्। घाम खासै लाग्दैन। गुम्म हुन्छ। भिजिबिलिटी अझ कमजोर हुन्छ। नाकमा एक प्रकारको पिरोले स्थायी बसोबास गर्छ।
अप्रिल र मेमा तुवाँलो अलि हटे पनि तापक्रम बढी हुन्छ। हप्प गर्मी हुन्छ। धुलोका कणले वातावरण बोझिल हुन्छ।
जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा भने काठमाडौंको मौसम ठिकै हुन्छ। मनसुनका महिनामा छाता ओढेर हिँड्दा खासै जाडो हुँदैन। पानी परेको काठमाडौंको सुगन्ध बेग्लै हुन्छ। माटोको गन्ध ह्वास्स नाकैमा ठोकिन्छ र जिउमै मिसिन्छ। वायुमण्डलको धुलो पानीले जमिनमा थेचारिदिन्छ र उठ्नै दिँदैन। जाडोभरिको हुस्सु र त्यसपछिको तुँवालो पानीले सफा गरिदिन्छ। वरिपरिका डाँडामा मनसुन टे्रकिङ पनि कम्ती रमाइलो हुँदैन त्यो बेला।
यो सहरका लागि सबैभन्दा राम्रो मौसम अक्टोबर र नोभेम्बर हो। आकाशमा सेता बादलका आकर्षक बुट्टा लागेका हुन्छन्। शिवपुरी डाँडा कति नजिक देखिन्छ भने हातैले छोइएलाजस्तो हुन्छ। नगरकोटबाट सगरमाथासम्मका हिमशृंखला देखिन्छन्।
अझ नोभेम्बर सबैभन्दा आकर्षक महिना हो, काठमाडौंमा। पानी पर्दैन। वरिपरि डाँडाकाँडा चढ्न रमाइलो हुन्छ। न जाडो हुन्छ, न गर्मी। ठमेल पर्यटकहरूले भरिएको हुन्छ। काठमाडौंलाई घेरेका विशाल डाँडाहरू हरिया देखिन्छन्। हिमाल कति नजिक देखिन्छ भने मानौं आँगनमै ठडिएको छ।
त्यो दिन श्रेष्ठजीको कार्यालयमा हामीले लामो कुरा गर्यौं।
उनले भने, ‘बुझ्नुभयो? प्रदूषण बिर्सने हो भने काठमाडौं मौसमका हिसाबले विश्वकै राम्रो सहरमध्ये एक हो। धेरै जाडो पनि हुँदैन यहाँ, धेरै गर्मी पनि हुँदैन।'
हुन न पनि काठमाडौंमा अहिलेसम्म माइनस ३.५ भन्दा तापक्रम घटेकै छैन। तापक्रम त्यत्ति ओर्लेको पनि ३५ वर्षअघि हो। यहाँको तापक्रम हत्पत्ति माइनस जाँदैन। गर्मी पनि समान्यतयाः ३० डिग्री हाराहारीमात्र हुन्छ। सबैभन्दा बढी तापक्रम रेकर्ड भएकै ३६ डिग्री, त्यो पनि उहिल्यै कुनै जमानामा। हिउँ पर्दैन। तर, तापक्रम घटेका बेला दुई घन्टामा हिँडेर पुगिने नजिकैका डाँडामा मनको सबै मैला पखालिने गरी हिउँ पर्छ।
तर खै, कसरी बिर्सने प्रदूषण? धुलोधुवाँ, राति सुत्ने बेलासम्म पिरो हुने नाक र पोल्ने आँखा? कसरी उत्सव मनाउने यो मौसमको?
...
प्रकृतिको भविष्यवाणी गर्न सकिँदैन। मौसमविदहरूले सामान्यतयाः यसको प्रवृत्तिमात्र आकलन गर्ने हो। अझ काठमाडौंजस्तो बिन्दास सहरको मौसम पूर्वानूमान गर्नु सजिलो काम होइन। जसरी हाम्रो देश सिस्टममा चलेको छैन, त्यसैगरी सिस्टममा छैन काठमाडौंको मौसम पनि। सनकी छ। कुन बेला के सनक देखाउँछ, अनुमान लगाउनै सकिँदैन।
अचानक जिउ पोल्ने घाम लाग्छ, अचानक आकासै बर्सिएला जस्तो गरेर पानी पर्छ, अचानक शरीर कक्र्याउने गरी चिसो हावा चल्छ।
तर खै, कसरी बिर्सने प्रदूषण? धुलोधुवाँ, राति सुत्ने बेलासम्म पिरो हुने नाक र पोल्ने आँखा? कसरी उत्सव मनाउने यो मौसमको?
...
प्रकृतिको भविष्यवाणी गर्न सकिँदैन। मौसमविदहरूले सामान्यतयाः यसको प्रवृत्तिमात्र आकलन गर्ने हो। अझ काठमाडौंजस्तो बिन्दास सहरको मौसम पूर्वानूमान गर्नु सजिलो काम होइन। जसरी हाम्रो देश सिस्टममा चलेको छैन, त्यसैगरी सिस्टममा छैन काठमाडौंको मौसम पनि। सनकी छ। कुन बेला के सनक देखाउँछ, अनुमान लगाउनै सकिँदैन।
अचानक जिउ पोल्ने घाम लाग्छ, अचानक आकासै बर्सिएला जस्तो गरेर पानी पर्छ, अचानक शरीर कक्र्याउने गरी चिसो हावा चल्छ।
आजै पनि बिहान मधुरो घाम लागेको थियो। एकैछिनमा पानी पर्लाजस्तो अँध्यारो भयो। केहीबेर जिउ तात्ने घाम लाग्यो।
अहिले दिन धुम्मिएको छ। एकैछिनमा चिसो बतास चलेर तापक्रम स्वात्तै ओर्लन पनि सक्छ।
मजा पनि अनप्रेडिक्टाबिलिटीमै छ। भविष्य देख्नुमा के मजा?
एकैछिनमा पानी पनि पर्न सक्छ तर म सधैंझैं छाता बोक्दिनँ। छाता बोक्नुमा कुनै नयाँपना छैन। परिस्थिति जस्तो बन्छ, त्योसँग त्यहीअनुसार जुध्नुपर्छ।
ब्रु अब कार्यालय जाने बेला भयो।
मैले लुगा फेरेँ र झोला मिलाएँ। झोलामा ऊनीको बाक्लो टोपी र टाइम्स अफ इन्डियाको पुरानो अंक राख्न बिर्सेको छैन। पानी छिट्याउन थालिहाल्यो भने ऊनीटोपी र अखबारले केही बेर छेक्नुपर्ला। त्यसपछि जे त होला!
दुःखी भएर ओछ्यानमै कक्रक्क परिरहनु वा पिरो धुवाँ आउने आगो तापेर अल्छी मानिरहनुभन्दा यो मौसमको मजा लिनुमै बुद्धिमानी छ भन्ने सोच्दै म बाक्लो लुगा लगाएर भर्खरै घरबाहिर निस्केको छु।
No comments:
Post a Comment