ह्वाई दिस, ह्वाई दिस कोलाबेरी डी
अघिल्लो सातासम्म भोग्दै थिई रमिता यो सुख। अचानक अवस्थामा परिवर्तन आयो। तेल बेचेर जनतालाई जबर्जस्ती कृतज्ञ पनि बनाउँदै र नाफा पनि बटुल्दै आएको सरकारले तेलको आपूर्ति गर्न सकेन। भारतीय तेल कम्पनीले उधारो पत्याउन छाडेपछि स्वाभाविक रूपले तेलको राष्ट्रिय संकट सुरु भयो। यो संकटको चेपमा परी, बिचरी रमिता। रमिताका लागि अहिले कान्तिपुरको यो कठांग्रिने जाडोमा घाँडो फिल हुन थाल्यो स्कुटी। अस्ति बल्ल बल्ल भ्रष्टाचार निवारण विभागका हाकिमको गाडी चलाउने छिमेकी ड्राइभर रिझाएर डेढ सय रुपैयाँ लिटरमा चोरीको तेल हाल्न सफल भएकी थिई। अहिले त त्यो पनि उपलब्ध छैन। त्यो ड्राइभर हिजैदेखि भद्रकालीमा लाम बसेको छ। कहिले उसको पालो आउँछ र फर्किन्छ? पत्तो छैन।
रमिताको साथी मन्दिपले मैत्री पम्पमा बिहान सातै बजेदेखि पेट्रोल बाँड्ने एसएमएस पठाएपछि ऊ स्कुटी कुदाउँदै आएकी थिई यहाँ। ऊ आइपुग्दा तेल बाँड्ने रमिता सुरु भैसकेको थियो। पेट्रोल बाँड्ने चालचुल थिएन कतै। मोटर साइकलको लामो ताँती बनिसकेको थियो, पम्पको अघिल्तिर। ताँतीमा उसका चिनजानका कोही थिएनन्। कसैसँग मस्किएर लाइन मिच्न पाइने भए मस्किन्थी पनि होली। त्यहाँ त्यस्तो कोही देखिएन। बिहानको चिसोले सबैका आँखामा चिसो आँसुको झरी लागिरहेको थियो। मस्किने-मस्काउने मुड कसैको थिएन। रमिताका अगाडि दुई सय मोटर साइकलको लाम थियो होला। सबैका ट्यांकी रित्ता थिए। सबै पम्पको सटरतिर आँखा तन्काइरहेका थिए। कसैलाई कसैको मतलब थिएन। रमिताले आँखा घुमाएर मन्दिपलाई खोजी। कतै नदेखेपछि एसएमएस पठाई। ऊ त रमितालाई एसएमएस गरेपछि आफैँ सिरक ओढेर सुतेछ।
ठिक सात बजे पम्प खुल्यो। सँगसँगै पेट्रोलको मिठो गन्ध वातावरणमा छरिन थाल्यो। मानिसहरू चम्किन थाले। लाममा बसे पनि धक्कामुक्का गर्नैपर्ने नेपालीको स्वभावअनुसार धक्कामुक्का सुरु भयो। एकपटक रगडा नगरे चित्तै नबुझ्ने जाति! त्यसको केही बेरपछि पुलिसको भ्यान साइरन बजाउँदै आयो। पुलिसको साइरनले नै वातावरण शान्त पनि भयो।
आठ बजेसम्म पनि आफ्नो पालो नआएपछि रमिता आत्तिन थालेकी थिई। उसको मनमा कुरा खेलिरहेको थियो- यति गर्दागर्दै तेल सकिएको घोषणा भयो भने त बर्बादै हुन्छ। तर, त्यसको सम्भावना कमै थियो। किनभने क्यालेन्डरअनुसार यो पम्पमा दुई पांग्रेका लागि मात्रै तेल थाप्ने अवसर दिइएको थियो। रमितालेे आफ्नो अगाडिका मोटर साइकल गन्न थाली। अझै तीस जति बाँकी थिए। प्रतिसवारी तीन लिटरको रासन तोकिएको थियो।
साढे आठ बजे रमिताको पालो आयो। पम्पवालाले उसलाई अलिकति छड्के हेर्यो र उसको स्कुटीमा पेट्रोल भर्न थाल्यो। पम्पवाला रमिताको सुन्दर अनुहारमा यति एकाग्र भएको थियो कि उसले तीन लिटरपछि पनि तेल भरि नै रह्यो। पम्पको सुई घुमेर तीनभन्दा अघि बढेको पत्तै पाएन। रमिताको अनुहार हेर्दाहेर्दै स्कुटीको ट्यांक भरियो। त्यतिन्जेलसम्म कोही केही बोलिरहेको थिएन। अचानक पछाडि उभिएको एउटा मरन्च्याँसे करायो, ‘ए, केटीको मुख देख्नेबित्तिकै जति पनि हाल्ने?'
आवाजले पम्पवाला झस्कियो र ‘सरी' भन्यो।
मरन्च्याँसे सासै नफेरी करायो, ‘सरी भनेर हुन्छ? ल मेरो पनि ट्यांकी फुल गर्। नत्र बबाल हुन्छ है। होस गर्।'
रमिताले पैसा बुझाई र हिँड्न थाली। त्यतिन्जेल भीड तातिसकेको थियो। भीडको मनोविज्ञान राम्ररी बुझेको पम्पवाला ल्याटि्रन जाने निहुँमा त्यहाँबाट उम्कियो। उसको काम अर्काले सम्हाल्यो। रमिता पनि त्यसैबेला उम्किई।
कोठामा आएपछि भने रमितालाई दिक्क लाग्यो। पैसा तिरेर पेट्रोल लिन पनि अनुहार बन्धकी राख्नुपर्ने। ग्यासवालासँग पनि मस्किनुपर्ने। ह्या, कस्तो जीवन हो यो शहर कान्तिपुरका मानिसका? कस्तो सरकार, कस्ता जनता। न पानीको ठेगान, न बत्तीको। न जीवनको ठेगान, न मृत्युको। कस्तो गजब भा'को यो देशमा।
भात पकाउन भ्याइन रमिताले। भोकै अफिस जाने निधो गरी र अनुहारमा क्रिमपाउडर पोत्न थाली। ठिक नौ बजे बत्ती आयो। राति झ्याप्प बत्ती निभेको बेला आफैँ अफ भएको टेलिभिजन आफैँ अन भएको थियो। पर्दामा प्रधानमन्त्री सरकारका उपलब्धिको दुर्गन्ध फैलाउँदै थिए चारैतिर। उनको अनुहार देख्नासाथ रमिताले वितृष्णाले आँखा फर्काई र मुन्टो बटारी। त्यसपछि टिभीको च्यानल चेन्ज गरी। म्युजिक च्यानलमा सुपर हिट गीत चम्किरहेको थियो- ह्वाई दिस, ह्वाई दिस कोलाबेरी डी...।
No comments:
Post a Comment