नेपाल हुँदा कहिले जाउँ जस्तो, यता आयो यस्तो सास्ती

 महिन्दो वाईबा मिलान, इटाली
mahindo-waiba-milanनेपाल छाडेको त्यस्तै ६ महिना पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसारसँग कल्पना गर्छन । युरोपको सम्पन्नता, सिबिधा, जीवनशैली, लवाइ खवाइ । युरोप पुग्न पाए त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् ‘तँ त सिधै युरोप पुग्ने भइस है ! अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ?’ यस्तै प्रश्न हुने गर्थे साथी भाई को ।
नेपाल छँदा कहिले पुगौंला जस्तो मलाई पनि नभएको चाहीँ होइन । साथी भाई बिदेश गएका छन । बर्ष दिनमा छुट्टीमा आउँछन् । त्यो कोशेली । पैसाको चुरिफुरी । आफू अनुकुल लोभ लाग्दा मोबाइल । छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्षित नगर्ने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइरहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा इटलीको जाने भिषा लाग्यो ।
म अहिले हिमाली ठाऔँमा बस्छु । यो हिमालको ठाउँ निकै चिसो छ । तापक्रम जहिले पनि माइनसमा हुन्छ । कहिलेकाहीँ हिउँ पर्छ । हिउँ लगातार धेरै पर्योभने मान्छे ओसार्ने केबुल्कार पनि बन्द हुन्छ । तलको मान्छे तलनै । माथिको मान्छे माथि रोकिनु पर्छ । अहिले म जहाँ छु यो ठाउँलाई गाबिएत भन्छन । यहाँ नजिकै मानव निर्मित एउटा ताल छ । त्यसैको नाम रहेछ गाबिएत । चरैतिर सेताम्मे छ । डाँडा, खोला, ताल, बाटो घरको छाना पुरै हिउँले ढाकेका छन । तैपनी मान्छेहरुको आवतजावत उत्तिकै छ । यो इटालीको भाल्ले दि ओस्ताव भन्ने एउटा जिल्ला जस्तै रहेछ । हिउँदमा युरोपका बिभिन्न देशहरुबाट समेत यहाँ छुट्टी मनाउन आउँदा रहेछन । हिउँसँग खेल्दै आफ्नो छुट्टीको सदुपयोग गर्न । शहरी वातावरणबाट केही समय टाढा रहन पनि यहाँ आउनेहरुको भिड नै लाग्ने रहेछ ।
लिच्यो, सान्द्रो , लुइजी, मिरेल्ला यि इटालियन नामहरु हुन जसको आज भोली म संगत गर्दैछु । खासै फरक पाइन मैले मानविय स्वभावमा । के को इटालियन के को नेपाली । हाँसो उस्तै, खुशी उस्तै । माया उस्तै, दुखाइ उस्तै । अनी के फरक छ भन्नु । हो, उनिहरु र हाम्रो संस्कार अली फरक छ । त्यती हो । दैनिक ब्यवहारमा सबै मान्छे उस्तै । कामको सिल्सिलामा म थक्दा उ पनि थाकेको देख्छु । कतै केही बिराउँदा उ पनि रिसाएको देख्छु । रमाइला क्षणमा उ पनि खुशी नै देख्छु । हामीलाई जस्तै उसलाई पनि नेपालीको संगत गर्न मनलाग्दो रहेछ । मात्र मान्छेको स्वभाव हो । खराब मान्छे नेपाली पनि खराब नै हुन्छ । इटालियन पनि खराब नै । असल स्वभाव पनि त्यही रहेछ । इटालियनहरु खैरे भनेपनी हामी जस्तै हुन । खासै फरक देखिन यो १५ दिनको सङ्गतमा । हेर्दै जाउँ अरु के ब्यवहार देखाउँछन ।
mahindo-waiba-121
हावा चलेपछी हिउँ त धुलो जसरी उड्दा रहेछन । द्रिश्य रमाइलो देखिँदो रहेछ । शायद यही हेर्न र यसैमा खेल्न होला शहरमा बसेर वाक्क भएकाहरु हिमाल तिर उकाला लाग्छन ।
बन्दा खानेलाई इनसलाता अनी पाउरोटीलाई पाने भन्दा रहेछन इटालियनहरु । खुब खाँदा रहेछन इटालियनहरु इन्सलाता र पाने । आफूलाई त खाजा खाएको कि खाना खाएको ।
कस्तो छुट्याउनै गार्हो पर्यो । न खाउँ दिन भरिको भोको । खाउँ बन्दा । अझै उनिहरुको त बेस्ट खाना रे ! कावली कि खै के हो भन्दा रहेछन बन्दालाई अझै । अझै सोध्छन मिठो छ ? भनेर । नमिठो भनौं मलाई मासु भात पक्कै दिँदैन । फेरी बन्दासँग खासै अपरिचित पनि होइन । बोनो, अझै मोल्तो बोनो भन्दै आँखा चिमचिम गर्दै पेटको राँको शान्ता पारे ।
केरा खान लाग्यो, तेरो देशमा एस्तो पाउँछ भनेर सोध्छन् । किन नपाउँनु, पाउँछ नि भन्दा यत्रो ठूलो होइन होला । सानो पाउने होला भन्छ । आलु खान लाग्यो । तेरो देशमा आलु पाउँछ ? भनेर सोध्छन् । कहिले तेरो देशमा खरायो पाउँछ भनेर सोध्छन । कहिले कुखुरा छ ? भनेर सोध्छन । कहिले के कहिले के । होइन यो इटालियनले के सोच्छन हँ नेपाललाई ? जेपनि त्यस्कै देशमा मात्र पाउने जस्तो । अनी मेरो पालो भनी दिएँ -तेरो देशमा केरा शुपरमार्केटमा पाउँदो रहेछ । हामी बोटैमा टिपेर खान्छौं । आलु कहाँबाट आउछ थाहा छैन तँलाई । तर हामी स्वदिलो आलु बारीबाटै खनेर पकाउँछौ । कुखुराको मासु भनेर कुनै खुट्टा मात्र, कुनै पखेटा मात्र । कुनै जिउ मात्र । यो भलेको मासु । यो पोथीको भनेर लेखेकोले मात्र चिन्छस तँ । तर हाम्रो मा त कल्की हल्लाउँदै जुध्ने भाले आगनमै चरीरहेको हुन्छ भनिदिएँ ।
करिब १०० दिन अब हिमालयको बास हुने भो । झिनो मात्रामा देखिने मोबाइलको साहायताले इन्टरनेट चलाऊँछु । त्यो पनि धेरै हिउँ परेको दिन कता बिलाउँछ थाहा हुन्न । एसो साथी भाईको स्ट्याटस चियाउनसम्म भ्याउँछु । यो भन्दा अघी यस्तो ठाउँमा कहिल्यै पाइला टेकेको थिईन । त्यसैले पनि यो मेरो सुनौलो अवसर हो नयाँ अनुभव गर्ने । हिमालमै बसिन्छ । रुखो सुखो के पाउँछ त्यही खाइन्छ । उनीहरुले जे जे बोल्छ त्यही बोल्ने कोशीस गरिन्छ । नसके सुनिन्छ । खैरे बुढो मलाई पो ‘तेरो देशमा पाउने याक ल्याइदे न’ भन्छ । अझै २ वटा पोथी अनी १ वटा भाले रे ! ‘सक्छस ?’ भन्छ । मैले के उत्तर दिनु ? अनी भनी दिएँ ‘भेडा चाहिन्छ भने चाहिँ भन । मेरो हजुरबासँग कुरा गरौंला । याक मैले त देखेको छैन । हिमाल हेर्न त तेरो देश आ इपुगेको छु । लौ त !
नेपालमा याक पाउँछ भन्ने चाहिँ थाहा रहेछ त्यसलाई । तिन वटा याक चाहियो रे । दुई वटा पोथी । एक वटा भाले । अनी भनी दिएँ ‘आफ्नो भिसा त कत्रो कसरत गरेर लाग्यो । याकको के गति होला ?’गोरे साहु हाँसेर मुर्छा पर्‍यो ।

No comments:

Post a Comment