● महिन्दो वाइबा / भाल्ले दि ओस्ताव, ईटली
पिलिपिली देखिने अनगिन्ती ताराहरु
सुन्सान सन्नाटा
न कुनै किरा कराएको सुनिन्छ, न कोलाहल नै
००००००००००००००००००
उ पर डाँडाको घरमा मधुरो बत्ती बलेको देख्छु
शायद हिउँको बाफले होला
यो उन्माद चिसोमा
थोरै तापमा कृयाशिल यो मस्तिस्कलाई दु:ख दिने प्रयास गर्दै
००००००००००००००००००
ए जुन
म तिमीलाई मधुरो सँग देखीरहेको छु हँसियाको आकारमा
शायद हिउँको बादलले होला
हिजो तिमी जहाँ थियौ, आज पनि त्यहीँ छौ
सम्भवत भोली पनि त्यहीँ हुनेछौ
००००००००००००००००००
तर मैले स्थान परिवर्तन गरें
म त प्रवासमा छु, तिमी त आकाश मै छौ नि !
स्थान परिवर्तन नगर, म तिमीलाई सल्लाह दिन्छु
परिवार छोड्नु पर्छ, आफ्नो भुमी छोड्नु पर्छ, अनी मायालु पनि
कोमल मुटु अनी दयालु मन पाइला पाइलामा दु:खाउनु पर्नेछ
तिमी त जेहोस आकाश मै छौ नि, स्थान परिवर्तन नगर ल !
००००००००००००००००००
मैले स्थान परिवर्तन गरें, म त प्रवासमा छु
मन नलागेको खानुपर्छ,
नबुझेको सुन्नु पर्छ
कती हेपाइ खानु पर्छ,
कती गाली सुन्नु पर्छ
पेट भर्न मैले त कयौंको जुठो भाँडा पनि माझें
जे गर भन्यो त्यही गरें, खाना जोहो गर्न
नत्र मरिन्छ, मर्न त भएन नि है जुन ?
तिमी त स्थान परिवर्तन नगर ल !
००००००००००००००००००
मैले त स्थान परिवर्तन गरेरै अहिले हिमालमा छु
पहिले शहर आइपुगेको थिएँ
त्यहाँ पनि सुख पाइन,
सुख खोज्दै यहाँ आइपुगें
शहरमा पनि म भाँडा नै मोल्थें,
यहाँ पनि मेरो काम त्यही हो
००००००००००००००००००
प्रवासमा भाँडा मोल्नु पर्छ
म प्रवासको भाषा जान्दिन
मैले जानेको काम यहाँ छैन
मलाई कसैले पनि यहाँ चिन्दैनन
म यहाँको संस्क्रिती बुझ्दिन
न यिनीहरुसँग मेरी लवाइ खवाइ नै मिल्छ
००००००००००००००००००
भाँडा मोल्न अली झिजो मान्दा रहेछन संसारै
त्यसैले मेरो जागिर पक्का भएको हो
म अल्पबिकसित देशको योग्य मान्छे
बिकासितमा आयोग्य हुँदो रहेछु
स्थान परिवर्तन गरेकोले म दण्डित भएँ
त्यसैले स्थान परिवर्तन नगर ल !
आफ्नो धर्म नछोड ल !
आफ्नो भुमीलाई कम नआँक ल !
No comments:
Post a Comment