युरोपको वास्तबिकता - गन्तब्य पोर्चुगल

अहिले धेरै नेपालीहरु युरोपियन मुलुक कसरी छिर्न सकिन्छ भनेर उपाए खोज्न थालेका छन । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहन्छन तर जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ ।

पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले जसरी हुन्छ सेन्जेन भिसा लगाउने र युरोप छिर्ने धेरैको सोचाई बनेको छ । भिषा लागे पछी केही दिनको लागि भनेर युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको छ । युरोपको सबै देशमा लामो समय बस्ने अनुमती पाईदैन । भिषा सकिय पछी अबैधानिक हुनु पर्ने हुन्छ । अबैधानिक रुपमा बस्दा बिभिन्न समस्या भोग्नु पर्ने हुन्छ l त्यसैले युरोपका जुनसुकै देशमा छिरे पनि अन्तत पुग्नु पर्ने पोर्चुगल नै हो ।   त्यसैले धेरै जसो  पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।

केही दिनको भिसामा युरोप छिराए बापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ ।

युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ?

युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेको पाइन्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्डजस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाएका पनि थिए ।

अहिले भने देशको अवस्था सामान्य भएकाले अन्य त्यस्तो कुनै बिकल्प छैन ।   कथं कदाचित नेपालीले अहिले नै शरणार्थी केस गरी हाले पनि केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले त्यतातिर खासै चासो देखिएको छैन ।

कार्ड बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा कार्ड बनाउन तीन वर्ष लाग्ने र बनाउने प्रक्रियामा मात्र करिब १०/12  लाख रुपैयाँसम्म खर्च हुन जान्छ । त्यसैले धेरैले पोर्चुगल रोज्छन । 

स्पेन छिर्न भाषा कक्षा पढ्नुपर्छ भने काम पाउन पनि मुस्किल हुन्छ । यद्यपि युरोपका अन्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि स्पेन जाने र अवस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि धेरै नै छ । 

पोर्चुगलमा कमाइ

लाखौँ रुपैया  रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ भने  त्यति राम्रो छैन । धेरै नेपालीले कमाएको रकमले आउन लागेको रिण तिर्न पनि हम्मे देखिन्छ । त्यसो त पोर्चुगलमा व्यापार, व्यवसाय गरेर महिना दिनमै लाखौँ रकम कमाउने नेपालीको पनि कमी छैन । तर, प्राय नेपालीले ७-८ सय युरो महिनाको बुज्छन । ‘पोर्चुगलमा कार्ड बनाउन सजिलो छ, यो सबैलाई थाहा छ । तर, नेपालीको मासिक कमाई ७-८ सय युरो हुन्छ, यो यहाँको औसत कमाई हो,। 


पोर्चुगलमा व्यापार व्यवसाय गरेर लाखौँ कमाउनेहरु पनि नभएका भने होइनन ।  ‘पोर्चुगलमा एक सयभन्दा बढी नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका छन्,’ । ‘मिनीमार्केट, सुपरमार्केट, ब्युटीपार्लर, मोबाइल पसल, घुम्ती पसल, नेपाली हस्तकला तथा गार्मेन्टजस्ता व्यवसाय पनि नेपालीले नै गरेका छन् । महिनामा ५० हजार रुपैयाँ कमाउने सामान्य नेपाली कामदारदेखि एक लाख युरोसम्म कमाउने व्यवसायी पोर्चुगलमा छन् ।’

कृषिमा नेपाली कामदार

पोर्चुगलमा झन्डै २५ हजार नेपाली रहेको अनुमान गरिएको छ । धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको पाइन्छ । यहाँ रहेका नेपालीमध्ये करिब १० प्रतिशतले आफ्नै व्यवसाय गर्ने गरेको र ३० देखि ४० प्रतिशत भने खेतीमा काम गर्छन् । पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफूल टिप्ने र प्याक गर्ने काम हो । खेतीमा काम गर्नेमध्ये करिब ७५ प्रतिशत कागज नभएकाहरु अर्थात भर्खर आईपुगेर डकुमेण्ट प्रोसेर गरेकाहरु हुन्छन ।   त्यहीँ काम गरेर कार्ड बनाउन पाइने हुनाले पनि कृषिमा ठूलो भीड देखिएको हो । राजधानी लिस्बनदेखि आधा घन्टाको दूरीदेखि 3/4 घन्टा टाढासम्म नेपालीले खेतीमा काम गर्ने गरेको पाईन्छ । 

May देखि September सम्म खेतीको सिजन भन्ने गरिन्छ भने, December र January मा काम अली कम हुन्छ ।  पोर्चुगलमा खेतीको काम गरेर पनि मासिक औसत ७-८ सय युरो कमाउछन । काममा खट्न सक्नेले  भने केही घन्टा बढी काम गरेर बढी कमाउने गर्छन् । कतै बस्ने व्यवस्था कम्पनीले गरेको हुन्छ भने कतै आफैँ गर्नुपर्छ । बस्ने व्यवस्था गरेका कम्पनीले खाना दिँदैनन्, खाना दिने भए बस्ने व्यवस्था आफैँ गर्नुपर्छ । युरोप आएको ६ महिना नपुगेका, भर्खर आएका नेपाली सीधै खेतीको काममा लाग्ने गरेको पाइन्छ । खेतीमा काम सुरु गर्दा कन्ट्रयाक भयो भने त्यतै अल्झनुपर्ने बाध्यता छ । कार्ड बन्नका लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउनुपर्ने हुन्छ । तर, खेतीको काममा कन्ट्रोल आउन ढिला हुने हुँदा बीचैमा काम छोडेर हिँड्न नमिल्ने पनि बाध्यता छ । खेतीमा करिब दुई वर्षसम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाइ भएका केही उदारण पनि छन् ।

कहाँ-कहाँ बाट आउँछन् पोर्चुगल ?

इजरायल, कतार, दुबई, साउदीमा पुगेर काम गरेका देखि बेलायत डेनमार्क, नर्वे जस्ता मुलुकमा अध्ययनका लागि आएका विद्यार्थीहरु आफ्नो अनुकूल नभएपछि पोर्चुगल पुग्छन । पढ्दा पढ्दै गरेका कलेज खारेज भएका , महँगो फी तिर्न नसकेका  वा अन्य बिभिन्न कारणले युरोपका अन्य देशमा बस्न नसकेकाहरु  कार्ड बनाउन पोर्चुगल पुग्छन । यस्तै बेल्जियम, नेदरयान्ड, स्विजरल्यान्डमा शरणार्थी केस असफल भएका नेपाली पनि पोर्चुगल नै लाग्ने गरेको पाइन्छ । नेपाल देखि नै युरोप छिर्न केही दिनको सेन्जेन भिसा लगाई आएका पनि सीधै पोर्चुगल पुग्ने गरेका छन् । यसका लागि १२ देखि १५ लाख रुपैयाँसम्म नेपालमै बुझाएका हुन्छन् । कतिपय भने पोर्चुगलमा सीधै वर्क परमिटमा पनि पुग्ने गरेका छन् । यसका लागि पनि मोटो रकम खर्च गरेको पाइन्छ ।

केही युवा कुलतमा र आत्महत्याको संख्यामा ब्रीद्धी 

सोचे जस्तो युरोप नदेखेपछि केही युवा भने कुलतमा फसेका छन् । कमाउने रहर बोकेर आएका युवा लागु पदार्थ दुव्र्यसनीमा लागेर पार्कतिर बरालिने गरेको भेटिन्छन् । नेपाल देखि नै कुलतमा लागेकाहरू यता आएपछि झनै स्वतन्त्र भएर कुलतमा लागेको पनि पाइएको छ । कतिपय नेपाली त गाडी पार्किङ गराउन सहयोग गर्ने र उनीहरूबाट पैसा माग्ने काम पनि गर्न थालेका छन् । सोचे जस्तो युरोपको जीवन नहुँदा पोर्चुगलमा नेपालीहरुको आत्महत्याको संख्यामा पनि ब्रिद्धी हुँदै गएको छ ।   

कसरी बन्छ पोर्चुगलको कार्ड ?

युरोप प्रवेश गरेको ६ महिनासम्म पोर्चुगलमा पुगेर पनि वैधानिक रुपमा काम गर्न मिल्दैन । कार्ड बनाउने प्रक्रिया स्वरूप सबैभन्दा पहिले फिनान्स नम्बर बनाउनुपर्छ । पासपोर्टमा यदि सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन । यदि भिसा सकिएको वा सेन्जेन नभए वकिलमार्फत बनाउँदा करिब १-२ सय युरो खर्च लाग्ने गरेको छ । लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा केही समय लाग्ने  गरेको पाइन्छ । काम गर्ने अनुमतिका लागि सेगुरान्सा (सोसियल नम्बर -इन्सुरेन्स नम्बर) बनाउनुपर्ने हुन्छ । यदि काम गर्ने कम्पनीले काम गर्ने कन्ट्रयाक पेपर दियो भने आफैँले नम्बर निकालिदिन्छ । तर वकिलमार्फत जानुपरेमा एक सय ५० युरोदेखि ४ सय युरो खर्च लाग्ने गरेको छ ।  यसका लागि करिब २ देखि ३ महिना समय लाग्न सक्छ । 

फिनान्स नम्बर र सेगुरान्सा (सोसियल नम्बर) प्राप्त गरे पछी पोर्चुगलको कार्डका लागि आवेदन दिने गरिन्छ । यसका लागि युरोप छिरेको ६ महिना हुनुपर्ने, वैधानिक कामको कन्ट्रयाक, एड्रेस प्रुफ लगायत कागजी प्रक्रियापछि आवेदक कार्डको प्रतीक्षामा हुन्छन् । सामान्यः खेतीमा काम गर्ने कामदारका लागि कन्ट्रोल ढिलो जाने पाइएकाले, यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ ।

कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउने भए पनि कतिलाई २ वर्षसम्म लाग्ने गरेको पाइन्छ । तर सेन्जेन भिसा नभएकाहरूको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ वर्ष देखि ६-७ वर्ष सम्म पनि कुर्नुपरेका घटना छन् ।

पोर्चुगल आउने नेपालीहरुको संख्या बढिरहेको बेला यहाँको समस्या र अन्य बिभिन्न  कारणले नेपाल र्फकने नेपालीहरु पनि  भेटिन्छन् ।  हरेक महिना  कोही न कोही नेपाली सधैंको लागि पोर्चुगल छाडेर नेपाल फर्कदै गरेको पनि भेटिन्छन् । 

No comments:

Post a Comment