पानीमा तैरिएको सुन्दर सहर भेनिस



इटलीको नाम सुन्नेबित्तिकै मानिसको मनमा त्यहाँका प्रसिद्ध कुराहरू आउँछन् । पोपको भेटिकन सहर, मिलानको चर्चित अन्तर्राष्ट्रिय फेसन मेला, पिसाको झुकेको धरहरा, माइकल एन्जेलोका कलाकृति आदि इटलीलाई विश्वसामु चिनाउने धरोहर हुन् ।

इटलीको रोम, फ्लोरेन्स, मिलान, जेनेभा, पिसा, वेनिस आदि सहरलाई प्राचीन कला, संस्कृति एवं ज्ञान-विज्ञानको ज्वलन्त उदाहरण मानिन्छ । त्यहाँका प्रत्येक सहरका गल्लीमा देख्न पाइने आकर्षक प्रतिमा तथा प्राचीन सभ्यताका नमुनाहरूले इटलीको गौरव उँचो तुल्याएका छन् । इटलीका सहरहरू आफैमा म्युजियमजस्ता देखिन्छन् ।

इटली पर्यटनका हिसाबले विश्वकै पाँचौं स्थानमा छ । शताब्दियौं पुरानो कला, संस्कृति एवं आधुनिकताको उच्चतम बिन्दुको मिश्रण इटली घुम्न रुचाउने हरेकका लागि सुन्दर एवं मनमोहक गन्तव्य साबित हुन सक्छ । युरोपेली सभ्यता एवं संस्कृतिको इतिहास जान्न इटलीको यात्रा गर्नुपर्छ । भ्रमण गर्दा अंग्रेजी भाषाले केही सजिलो हुने भए पनि गाइड बुक तथा दोभाषेको सहायताबाट यात्रालाई सहज बनाउन सकिन्छ ।ऐतिहासिक सहर रोमः रोम छिरेपछि त्यहाँको इतिहास जान्न जो कोही उत्सुक हुन्छन् । प्राचीन रोम साम्राज्यदेखि लिएर अहिलेसम्मको इतिहासलाई फोरडी टाइम एलिजावेटरबाट राम्रोसँग हेर्न सकिन्छ । त्यसलाई हेर्न बसेका दर्शक आफूलाई इतिहाससँग जोडिएको अनुभव गर्छन् । रोम सहर स्मारकहरूका लागि प्रसिद्ध छ । प्रत्येक चोकमा भव्य प्रस्तर, प्रतिमाहरू एवं पाइलैपिच्छे चलिरहेका फोहोराहरूले पर्यटकहरूको स्वागत गरेजस्तो देखिन्छ । रोमको सुरक्षाका लागि बनाइएका ध्वस्त पर्खालमै सहर प्रवेश गर्ने विभिन्न मार्ग छन् । त्यहाँ चर्चित कवि किट्स र शेलीको समाधि पनि छ । रोमको इतिहास खोतल्दै जाँदा त्यहाँका तानाशाह कालीगुला र निरोका बारेमा पनि जान्नैपर्छ । उनीहरूको अत्याचारबाट दुःखी भएर कालीगुलाको हत्या उनकै अंगरक्षकले गरेका थिए भने निरोले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । उनीहरूको अत्याचारको भयावह सम्झना बिर्साउन राजप्रासादलाई विशाल रंगस्थलीमा परिवर्तन गरेका थिए । यही रंगस्थलीमा मनोरञ्जनका लागि दासहरूलाई सिंहसँग कुस्ती खेल्न लगाइन्थ्यो । यसबाहेक रोममा भिक्टर एमेयोनिउको समाधि तथा रोमन फोरमका प्राचीन खण्डहरहरू दर्शनीय छन् । माइकल एन्जेलोले डिजाइन गरेको क्यापिटोलिन पहाडमा नवजागरण कालमा निर्मित सुन्दर भवन र बार्दली पनि निकै आकर्षक छ ।भेटिकन सहर इटलीको अर्को स्वायत्त राज्य हो । त्यहाँ आफ्नै सिक्का र हुलाक टिकट छ । विश्वको सानो राज्य भेटिकन विश्वकै सम्पूर्ण क्याथोलिक इसाइहरूको ठूलो धर्मस्थल हो । भेटिकनको आफ्नै रेडियो स्टेसन छ जुन विश्वभर अनेकौं भाषामा प्रसार हुन्छ । पोपको निवासस्थान पनि यही हो ।

विशाल संग्रहालयः भेटिकनमा हरेक दिन हजारौं श्रद्धालु पिटर चर्चमा प्रार्थनाका लागि भेला हुन्छन् । यो विश्वकै सबैभन्दा ठूलो चर्च हो भने यसको नाम पहिलो पोप सन्त पिटरको नाममा राखिएको हो । यही चर्चमा पोपको समाधिस्थल पनि छ । त्यहाँ एक विशाल कला संग्रहालय पनि छ जहाँ दुर्लभ कलाकृतिहरू राखिएका छन् । सँगैको अर्को चर्चमा प्रसिद्ध चित्रकार माइकल एन्जेलोको पेन्टिङ छ ।

फ्लोरेन्सः फ्लोरेन्स इटलीको सांस्कृतिक राजधानी हो । इटलीको नवजागरण यही सहरबाट सुरु भएको हो । यो सहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो । यो सहर माइकल एन्जेलो, लियोनार्दो भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ । १३ देखि १६ औं शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकषिर्त गर्ने स्थल हुन् । उपीसी तथा पिती म्युजियममा देख्न पाइने दुर्लभ तथा अमूल्य चित्रहरू पनि यहाँका विशेष आकर्षण हुन् । फ्लोरेन्स नजिकै पिसा नामक एउटा सानो सहर छ जुन महान् वैज्ञानिक ग्यालिलियोको जन्मस्थल हो । यहीँ नै विश्व प्रसिद्ध झुकेको धरहरा छ । ११७४ देखि १३५० बीच सेतो मार्बलले बनाइएको चर्चका साथ घण्टाघर पनि निर्माण गरिएको छ, जुन १४ औं शताब्दीमा निर्माण गरिएको थियो । यो चर्चको पछाडि सानो मैदानमा बनेको झुकेको धरहरा हेर्न विश्वभरका पर्यटक आउँछन् ।पानीमा तैरिएको सहरः भेनिस पानीमा तैरिएको सुन्दर सहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुलको केनाल छ । यहाँको पिआजा सेन मार्क चर्चका अगाडि विशाल प्राङ्गणमा हजारौं परेवा हुन्छन् । चर्चको नजिक वेनिसका मध्यकालीन शासकहरूको राजप्रासाद छ ।

ग्रेन्ड केनालमा र रियाल्टो बि्रजको मुनि आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ । गोन्डोलाको सवारीको आनन्द लिनुअघि पहिले आफ्नो खल्ती छाम्नु जरुरी हुन्छ । किनभने गोन्डोलाको भाडा प्रतिव्यक्ति १ सय यूरोसम्म पर्छ । त्यसैले वेनिसको यात्रा पैदल कि स्टिम भन्ने विषयमा खर्चको हिसाब गर्नु बुद्धिमानी हुन्छ । मुरानो द्विप नदेखेसम्म वेनिसको यात्रा अधूरै हुने मान्यता छ । पायरबाट मुरानो द्विपमा खोल्साको दुवै भागमा ढिस्को बनाइएको छ भने त्यसका साथमा सुन्दर विल्डिङहरू पनि छन् । अधिकांश विल्डिङको तल्लो भागमा सिसाका खेलौना, सिसाका भाँडा, सिसाकै कलाकृतिका पसलहरू छन् । त्यहाँ पुगेपछि सिसाबाट गरिएका महान् काम देखेर पर्यटकहरू दङ्ग हुन्छन् ।

अन्तर्राष्ट्रिय मेलाहरूः प्रत्येक वर्ष वसन्त ऋतुमा मिलानमा आयोजना हुने अन्तर्राष्ट्रिय फर्निचर मेला अत्यन्त आकर्षक हुन्छ । इटलीमा प्रतिवर्ष लगभग १० हजार प्रदर्शनी हुन्छन् जसमध्ये करिब २ सय प्रदर्शनी अन्तर्राष्ट्रिय स्तरका हुन्छन् । खानपानमा पनि इटली विशिष्ट छ । इटालियन पास्ता र पिज्जा साना, ठूला हरेक रेस्टुराँमा सजिलै उपलब्ध हुन्छन् । होटलमा खाने बेलामा अर्कै आनन्द हुन्छ । त्यहाँ खानाका लागि विशिष्ट वातावरण तयार पारिन्छ । ग्राहकलाई मान-सम्मानका साथ भोजन पस्किइन्छ । इटलीमा तयार वाइन विश्वकै श्रेष्ठ वाइनमा गनिन्छ ।

सपिङ ः सौन्दर्यमा निखार ल्याउन एवं स्वास्थ्यका दृष्टिले पनि इटलीको स्थान महत्वपूर्ण छ । यहाँ विदेशी पर्यटकहरूका लागि विभिन्न किसिमका ४ सय वटा विशिष्ट स्पा सेन्टर छन् । आधुनिक फेसनका लागि मिलान, रोम, फ्लोरेन्स तथा वेनिस विश्वमै प्रसिद्ध छन् । चर्चित ब्रान्डका आधुनिक पहिरन एवं सौन्दर्य प्रसाधन, रोमको विशाल फेसन मलमा किन्न सकिन्छ । पहिरन र सौन्दर्य प्रसाधनका अतिरिक्त त्यहाँ इच्छाअनुरूपको पेन्टिङ, ह्यान्ड ब्याग, जुत्ता एवं आभूषण आदि खरिद गर्न सकिन्छ । इटलीमा पाइने गहनाहरू नेपाल एवं भारतमा पाइने गहनाभन्दा भिन्न हुन्छन् ।

यात्रामा रुचि राख्ने हरेकका लागि इटलीको यात्राले रोमाञ्चित तुल्याउनुका साथै बेग्लै आनन्दको अनुभूति गराउँछ ।




No comments:

Post a Comment